images
images
  • ६ करोड खर्चिएर फेरियो याङवरक पोखरीको रूप, दैनिक सयौँ पर्यटक पुग्न थाले

    काठमाडौं – पाँचथरको याङवरक गाउँपालिका–४ जोरधारास्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको याङवरक पोखरीमा पर्यटकीय पूर्वाधार निर्माण सम्पन्न भएको छ । पाँच वर्ष लगाएर ६ करोड ४४ लाख २४ हजार रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरिएपछि पोखरी आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको हो ।

    विगतमा रुखविरुवा, बोझो, जलकुम्भी र फोहोरले ढाकिएको प्राकृतिक पोखरी अहिले पानीको फोहरा, व्यवस्थित रेलिङ, सेल्फी खिच्ने स्थान र फूलबारीसहितको पर्यटकीय गन्तव्यमा रूपान्तरण भएको छ ।

    सात मिटर गहिराइ तथा ५० मिटर लम्बाइ र चौडाइ रहेको पोखरीमा काठमाडौंको एसएम जोशी आशु जेभीले निर्माणको काम गरेको हो । पोखरीको संरक्षणसँगै परम्परागत पानीका धारा, बालउद्यान, विश्रामस्थल, धार्मिक मूर्ति, प्रवेशद्वार, याङवरक स्तम्भ र अन्य पर्यटकीय संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले जानकारी दिए ।

    मुख्य संरचना दुई वर्षअघि नै निर्माण भए पनि घेराबारा र रङरोगनलगायतका काम बाँकी थिए । ती कामसमेत सम्पन्न भएपछि गाउँपालिकाले शिलालेख अनावरण र पानीको फोहरा सञ्चालन गरी पोखरीको औपचारिक उद्घाटन गरेको छ । उद्घाटनमा गाउँपालिका अध्यक्ष योङ्या र निवर्तमान अध्यक्ष लेखनाथ घिमिरे सहभागी भए ।

    पाथीभरा र चिवाभञ्ज्याङ जाने पर्यटक तान्ने योजना

    याङवरक पोखरीलाई ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरा देवी, तिम्बु पोखरी तथा मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

    पूर्वाधार निर्माणपछि पोखरीमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेको गाउँपालिकाले जनाएको छ । पर्यटकको आवागमन बढेसँगै यस क्षेत्रलाई स्थानीय आम्दानीको स्रोत बनाउने सम्भावनाबारे गाउँपालिकाले अध्ययन गरिरहेको अध्यक्ष योङ्याले बताए ।

    पर्यटकको चहलपहललाई स्थानीय व्यवसाय, रोजगारी र सेवा सुविधासँग जोड्न सके यस क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । त्यसका लागि पोखरीको संरक्षण, पर्यटकमैत्री सेवा र व्यवस्थित व्यवस्थापन महत्त्वपूर्ण हुने देखिन्छ ।

    सिक्कासँग जोडिएको पोखरीको नाम

    याङवरक पोखरी प्राकृतिक आकर्षणका साथै लिम्बू समुदायको सांस्कृतिक र धार्मिक आस्थासँग पनि जोडिएको छ। स्थानीय व्याख्याअनुसार ‘याङ’को अर्थ पैसा र ‘वरक’को अर्थ पोखरी हो। पोखरीमा टल्कने सिक्का भेटिने गरेको जनविश्वासका आधारमा यसको नाम याङवरक रहन गएको बताइन्छ ।

    यस क्षेत्रका जानकार महेन्द्र सेलिङका अनुसार पोखरीलाई भगवान् तागेरा निङ्वाभुमाङले स्नान गरेको स्थलका रूपमा समेत मानिन्छ । स्थानीय जनविश्वासमा यसलाई विगतमा ‘हाङ वरक’ अर्थात् राजाले नुहाउने पोखरी र ‘माङ वरक’ अर्थात् भगवान् भेटिने पोखरीका रूपमा चिनिने गरिन्थ्यो ।

    पोखरीको ऐतिहासिक पृष्ठभूमि, धार्मिक आस्था र प्राकृतिक विशेषताले यसलाई सामान्य घुमघामको स्थलभन्दा फरक पहिचान दिएको छ ।

    निशान कालिका धाम र लिम्बूवानको इतिहास

    याङवरक पोखरी क्षेत्रको अर्को महत्त्वपूर्ण आकर्षण निशान कालिका धाम हो। विशाल रुखको फेदमा रहेको यस मन्दिरमा पोखरीको उत्पत्तिकालदेखि नै पूजा–आराधना हुँदै आएको स्थानीय विश्वास छ । निशान कालिका धामको संरक्षण तथा घेराबाराको काम गाउँपालिका र स्थानीयवासी अस्मिन इधिङ्गोको परिवारको लगानीमा सम्पन्न गरिएको हो ।

    यस क्षेत्रमा सवारी पार्किङ, शौचालय र मार हान्ने स्थानलगायतका संरचनासमेत निर्माण गरिएका छन् । यसले धार्मिक अनुष्ठानमा सहभागी हुने तथा घुम्न आउने मानिसलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    निशान कालिका धाममा प्रत्येक वर्ष बडादसैँको महानवमीका दिन निशान प्रदर्शन गर्ने परम्परा छ । यस अवसरमा श्रीकम्फु र श्रीजङ्गी निशान प्रदर्शन गरी पूजा–आराधना गरिन्छ ।

    स्थानीय इतिहासअनुसार नेपाल एकीकरणका क्रममा गोरखाली फौज र तत्कालीन दस लिम्बूवानअन्तर्गतको याङवरक थुमका सेनाबीच युद्ध हुँदा निर्णायक हारजित नभएपछि सम्झौता भएको थियो । त्यस क्रममा गोरखाली फौजले उपहारस्वरूप दिएका दुई निशान तथा युद्धमा प्रयोग भएका खुडा, खुकुरी र अन्य हतियार प्रदर्शन गर्ने चलन रहेको महेन्द्र सेलिङ बताउनुहुन्छ ।

    तत्कालीन लिम्बूवानअन्तर्गतका ५२ थरी लिम्बूले यस क्षेत्रमा सामूहिक रूपमा सामुदायिक नीतिनिर्माण गर्ने गरेको जनविश्वासका कारण यो स्थल ‘५२ मौलो’ नामले पनि परिचित छ। दुवै निशान सुरक्षित राख्न कालिका धाम परिसरमै संरचना निर्माण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images