images
images
  • बाढीले अवरुद्ध घिरिङ–डेढगाउँ जोड्ने पुल १८ दिनपछि सञ्चालनमा

    काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै दसैँका बेला यात्रु तथा स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने भएको छ।

    तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकास्थित डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पुलको दुवैतर्फको पहुँच सडक असोज ११ गते आएको बाढीले बगाएको थियो। त्यसपछि पुल भएर हुने सवारी आवागमन ठप्प भएको थियो।

    नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक निर्माण बुधबार सम्पन्न भएको हो। दुवैतर्फको पहुँच सडक तयार भएपछि बुधबारदेखि पुलमा सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।

    दसैँको आवागमनमा राहत

    पुल सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवनलगायत क्षेत्रमा आवतजावत सहज हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनलाई समेत राहत पुग्ने भएको छ।

    पहुँच सडक बाढीले बगाएपछि दैनिक आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए । दसैँको समयमा घर फर्किने र आफन्तकहाँ जाने यात्रुको चाप बढ्ने भएकाले पुल पुनः सञ्चालनमा आउँदा स्थानीयलाई थप सहज हुने गाउँपालिका अध्यक्ष थापाले बताए ।

    सडक डिभिजनको सहयोगमा मर्मत

    पुलको तनहुँतर्फको पहुँच सडक मर्मत सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको हो। स्याङ्जाको सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौताअनुसार मर्मत कार्य सम्पन्न गरेको जनाइएको छ ।

    करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–पिपलडाँडा सडक खण्डनजिक पर्छ। पोखरा, गैँडाकोट र रामपुर क्षेत्रबीच आवतजावतका लागि समेत महत्त्वपूर्ण मानिने यो पुलले आसपासका बस्तीलाई सडक सञ्जालसँग जोड्न भूमिका खेल्दै आएको छ ।

    पुलको पहुँच सडक बाढीले बगाएपछि त्यस क्षेत्रमा आवतजावत र ढुवानी प्रभावित भएको थियो । दुवैतर्फको अस्थायी पहुँच सडक निर्माणसँगै पुल पुनः सञ्चालनमा आएपछि स्थानीय यातायात सेवा सामान्य बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images