काठमाडौं – सन् २०२६ को शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४१ हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका हुन् । आरोहण अनुमतिबाट सरकारले २८ करोड २४ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ ।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन् । आरोहण अनुमति जारी गरेबापत विभागले एक करोड ८५ लाख ४९ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
मनास्लुमा मात्रै ५०० आरोही
शरद् ऋतुमा आरोहीको सबैभन्दा बढी आकर्षण आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा देखिएको छ । मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् ।
मनास्लु आरोहण अनुमतिबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ। यो रकम विभागले संकलन गरेको कुल रोयल्टीको ठूलो हिस्सा हो । यसले शरद् ऋतुको हिमाल आरोहणबाट हुने राजस्वमा मनास्लुको महत्त्वपूर्ण योगदान देखाउँछ ।
आमादब्लम र हिम्लुङमा पनि आकर्षण
विभागका अनुसार आमादब्लम हिमाल आरोहणका लागि १६ टोलीका १७८ जनाले अनुमति लिएका छन्। यसबाट दुई करोड ७३ लाख १५ हजार ५०० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, हिम्लुङ हिमाल आरोहणका लागि नौ टोलीका ९४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ५७ लाख ८८ हजार ९६० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
धौलागिरि प्रथम हिमाल आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । यसबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ। मकालु हिमाल आरोहणका लागि भने एक टोलीका तीन जनाले अनुमति लिएका छन्। उनीहरूबाट छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ ।
७१ देशका आरोही नेपालमा
नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १३२ जना छन् । त्यसपछि रसियाका ९६, अमेरिकाका ९४, फ्रान्सका ९३ र बेलायतका ७४ जना आरोही छन् ।
त्यस्तै, पोल्यान्डका २९, स्विट्जरल्यान्डका २८, इटालीका २८, जापानका २८, नेपालका २६, भारतका २२ र स्पेनका २१ जनाले अनुमति लिएका छन् । अन्य देशबाट पनि आरोहीहरू नेपाल आएका छन् ।
दर्जनौँ हिमाल आरोहणका लागि अनुमति
विभागले मनास्लु, धौलागिरि प्रथम, मकालु, हिम्लुङ र आमादब्लमसहित विभिन्न हिमालका लागि आरोहण अनुमति जारी गरेको छ । अन्य हिमालमा पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम ९लाङचेनेल०, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण चौथो, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत छन् ।
नेपालका हिमालले अन्तर्राष्ट्रिय आरोहीलाई आकर्षित गर्दै आएका छन् । शरद् ऋतुमा जारी भएका आरोहण अनुमतिबाट संकलित रोयल्टीले पर्वतारोहण पर्यटन नेपालको पर्यटन अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको देखाउँछ ।























