काठमाडौं – चितवनमा सन् २०२६ को जनवरीदेखि हालसम्म ८० जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालस्थित एड्स हेल्थ फाउन्डेसनले जोखिममा रहेका समूहका २२३ जनामा गरेको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।
यस अवधिमा नयाँ सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एचआइभी नियन्त्रणका लागि प्रयोग गरिने एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) औषधि सेवन गर्न थालेका छन् । तीमध्ये ११ जना जिल्ला बाहिरबाट आएको फाउन्डेसनले जनाएको छ । यससँगै फाउन्डेसनमार्फत नियमित एआरटी औषधि सेवन गर्नेको सङ्ख्या १ हजार २९३ पुगेको छ ।
भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलका अनुसार एचआइभी सङ्क्रमितको यौन रोगसम्बन्धी परीक्षणका क्रममा अन्य यौन रोगको सङ्क्रमणसमेत देखिएको छ । एक हजार १६१ जनाको परीक्षण गर्दा ५२ जनामा यौन रोग पुष्टि भएको उनले जानकारी दिए। सङ्क्रमण देखिएका बिरामीको उपचार गरिएको पनि उनले बताए ।
डा. पौडेलले पछिल्लो समय सरकारी तवरबाट कन्डम उपलब्ध हुन नसक्दा असुरक्षित यौनसम्पर्कका कारण यौन रोग तथा भिरिङ्गीको जोखिम बढेको बताएका छन् ।
एचआइभी सङ्क्रमितमा क्षयरोगको समस्या पनि देखिएको छ। फाउन्डेसनका अनुसार १४८ जनाको खकार परीक्षण गर्दा १५ जनामा क्षयरोग पुष्टि भएको छ । एचआइभी र क्षयरोग दुवैको जोखिमलाई ध्यानमा राख्दै नियमित परीक्षण, समयमै उपचार र औषधि सेवन महत्त्वपूर्ण हुने स्वास्थ्यकर्मीले बताएका छन् ।
यसैबीच, जनवरीदेखि हालसम्म नियमित औषधि सेवन गरिरहेका तीन जना सम्पर्कविहीन भएका छन्। उनीहरूले औषधि सेवन गर्न छाडेको र त्यसपछि फाउन्डेसनको सम्पर्कमा नआएको जनाइएको छ ।
फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस अवधिमा गरिब, वृद्धवृद्धा तथा एकल महिलासहित औषधि लिन आउने १ हजार २११ जनालाई यातायात, प्रयोगशाला परीक्षण, पोषण, औषधि र आकस्मिक सेवामा सहयोग गरेको जनाएको छ ।























