काठमाडौं – सरकारले विद्यार्थीको चाप बढी भएका र उत्कृष्ट नतिजा हासिल गर्दै आएका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विस्तार गर्ने योजना अघि बढाएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसमध्ये पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ ।
योजनाअन्तर्गत प्रत्येक विद्यालयमा करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे, तीनतले भवन निर्माण गरिनेछ । भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्री पोखरेलले जानकारी दिएका छन् ।
सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन तथा सिकाइ वातावरणलाई सुरक्षित र प्रभावकारी बनाउन पूर्वाधार विकासलाई प्राथमिकता दिएको जनाएको छ ।
मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको र कतिपय विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थालाई ध्यानमा राखेर सुधारको काम अघि बढाइएको बताए । उनका अनुसार पहिलो चरणमा विद्यार्थीको चाप बढी भएका विद्यालयको पूर्वाधार सुधार गरी आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक संरचनालाई समान रूपमा सुदृढ बनाउने लक्ष्य छ ।
सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।






















