काठमाडौं – काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा भएको कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने थप अनुसन्धानका लागि अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौंको खसीबजार बस्दै आएका १८ वर्षीय रोशन पाख्रिनको मृत्यु भएको हो ।
रोशनलाई कुटपिट गरेको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान पक्राउ गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित क्षेत्रमा उनीहरूबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिटबाट गम्भीर घाइते भएका रोशनलाई उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले रूपेशलाई नियन्त्रणमा लिएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान गर्न थप तीन जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।






















