images
images
  • दसैंका लागि १ लाख भन्दा बढिले लिए अग्रिम टिकट, २४ घण्टामै ७८ हजार उपत्यकाबाहिर

    काठमाडौं – दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार १३८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने दसैँका लागि अग्रिम बस टिकट बुकिङ गर्नेको सङ्ख्या १ लाख ३० हजार १२९ पुगेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्म विभिन्न नाका हुँदै उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।

    घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक यातायात प्रयोग गरेर १ लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका थिए ।

    दसैँ मनाउन यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै बाहिरिरहेका छन् ।

    सडक बिग्रिँदा यातायात व्यवस्थापनमा सकस

    दसैँका लागि घर फर्किने यात्रुको चाप बढिरहेका बेला बिग्रिएका सडकका कारण यातायात व्यवस्थापनमा समस्या देखिएको यातायात व्यवसायीले बताएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले विभिन्न राष्ट्रिय राजमार्गको अवस्थाले सवारीसाधन समयमा गन्तव्यमा पुग्न र काठमाडौं फर्किन कठिनाइ भइरहेको बताए ।

    असोज २३ गते अग्रिम टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएका थिए। त्यसले यात्रु व्यवस्थापन र सवारीसाधनको परिचालनमा थप समस्या सिर्जना गरेको व्यवसायीको भनाइ छ ।

    चार दिनमा १ लाख ३० हजारभन्दा बढीले बुक गरे टिकट

    दसैँका लागि असोज २३ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला गरिएको थियो। त्यसयता १ लाख ३० हजार १२९ यात्रुले टिकट बुकिङ गरिसकेको तथ्याङ्क छ ।

    असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते संयुक्त रूपमा ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट लिएका छन् ।

    यात्रुको चाप बढ्दै जाँदा टिकट व्यवस्थापनसँगै सुरक्षित र सहज यात्राको विषय पनि महत्त्वपूर्ण बनेको छ । यातायात व्यवसायी महासङ्घले यात्रुलाई अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images