images
images
  • अमेरिकी चुनावअघि आक्रमणको दायरा विस्तार गर्ने रणनीतिमा इरान

    काठमाडौं– इरानले विश्व बजारमा तेलको मूल्य उच्च राख्ने र नोभेम्बरमा हुने अमेरिकी निर्वाचनलाई प्रभावित पार्ने रणनीति बनाएको छ ।

    स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजलाई लक्षित गरी नयाँ रणनीति अपनाउन थालेको इरानका दुई वरिष्ठ अधिकारीले रोयटर्सलाई बताएका छन् ।

    अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेयता तेहरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गर्दै आएको छ ।

    युद्धअघि विश्वभरको कुल तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) व्यापारको करिब पाँच भागको एक भाग यही जलमार्गबाट हुने गर्थ्यो ।

    अमेरिकामाथि दबाब बढाएर आफ्नो पक्षमा वार्ताको वातावरण बनाउन इरानले उक्त जलमार्गबाट हुने आवागमनमा प्रतिबन्ध लगाउँदै आएको छ ।

    इरानका धम्की र आक्रमणका कारण यस जलमार्गबाट हुने जहाज आवागमनमा ठूलो गिरावट आएको छ ।

    त्यसले तेलको मूल्य बढाएको भए पनि केही जहाजले भने अझै तेल ढुवानी गरिरहेका छन् ।

    इरानी अधिकारीहरूले नयाँ रणनीतिका विस्तृत विवरण दिन अस्वीकार गरे ।

    तर, तीमध्ये एक अधिकारीका अनुसार करिब १० दिनअघि इरानले आफ्ना प्रतिबन्ध उल्लङ्घन गरेको ठानेका जहाजमाथि आक्रमण गर्ने तरिका परिवर्तन गरेको थियो ।

    त्यसपछि त्यस्ता जहाजमाथिका आक्रमण बढेका छन् ।

    अधिकारीहरूका अनुसार नयाँ रणनीतिमा आक्रमणको प्रकार र गति दुवै परिवर्तन गरिएको छ ।

    यसको एउटा उद्देश्य अमेरिकी निर्वाचनको परिणामलाई प्रभावित पार्नु पनि हो ।

    इरानी अधिकारीले भने, ‘यसको उद्देश्य विश्व बजारमा तेलको मूल्य घटाउने अमेरिका र उसका सहयोगीहरूको प्रयासलाई विफल पार्नु हो ।’

    इरानको नेतृत्वको उच्च तहबाटै नयाँ रणनीति अपनाउने निर्णय भएको र देशको सत्तासञ्चालन प्रणालीका विभिन्न निकायबीच पूर्ण समन्वय गरिएको पनि अधिकारीहरूले बताएका छन् ।

    इरानले जहाज पहिचान गर्न साना डुङ्गामा निगरानीकर्ता परिचालन गर्दै

    अमेरिकी सेनाका एक अधिकारीले पनि इरानले आफ्नो सैन्य रणनीतिमा महत्त्वपूर्ण परिवर्तन गरेको पुष्टि गरेका छन् ।

    आफ्नो राडार क्षमताको ठूलो हिस्सा अमेरिकाले नष्ट गरिदिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले सम्भावित लक्ष्य पहिचान गर्न साना डुङ्गामा हतियारविहीन निगरानीकर्ता परिचालन गर्न थालेको ती अधिकारीले बताए ।

    उनका अनुसार गत साता सार्वजनिक नभएको एउटा घटनामा अमेरिकी सेनाले इरानी निगरानीकर्ताहरू एउटा परम्परागत ढुङ्गा (धौ)बाट गतिविधि सञ्चालन गरिरहेको पत्ता लगाएको थियो ।

    उनीहरूले आईआरजीसीलाई सम्भावित लक्ष्यबारे सूचना दिइरहेका थिए ।

    अमेरिकी सेनाले उक्त डुङ्गाको सामना गर्दै त्यसमा रहेका व्यक्तिहरूलाई जहाज छाड्न निर्देशन दिएको र त्यसपछि डुङ्गा नष्ट गरेको ती अधिकारीले बताए ।

    घटनामा कोही पनि हताहत नभएको उनको भनाइ छ ।

    इरानले बाँकी रहेका तीव्र गतिका सैन्य डुङ्गा जोखिममा पार्न नचाहेका कारण स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल निर्यातमा भएको वृद्धिलाई रोक्न नसकेको अमेरिकी अधिकारीले बताए ।

    अमेरिकी आक्रमणबाट इरानको नौसैनिक क्षमतामा ठूलो क्षति पुगेपछि यस्तो अवस्था आएको उनको भनाइ छ ।

    अमेरिकी मध्यावधि निर्वाचनमा युद्ध र तेलको मूल्य प्रमुख मुद्दा

    युद्धमा अमेरिकाले प्रतिमहिना करिब तीन अर्ब अमेरिकी डलर खर्च गरिरहेको छ ।

    यो खर्च र इरानसँगको युद्ध नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनका प्रमुख मुद्दामध्ये एक बनेका छन् ।

    उक्त निर्वाचनले अमेरिकी कंग्रेसमा कसको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अब के कदम चाल्ने भन्ने विषयमा विचार गरिरहेका छन् ।

    तर उनले निर्वाचनअघि इरानमाथि पुनः आक्रमण नगर्ने बताएका छन् ।

    यसैबीच, अमेरिकाले इरानी बन्दरगाहमाथि आफ्नै नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिएको छ ।

    साथै, तेहरानमाथि आर्थिक दबाब बढाएर युद्ध अन्त्य गर्ने सम्झौताका लागि तयार पार्न प्रतिबन्धहरू थप विस्तार गरिरहेको छ ।

    होर्मुज जलमार्गलाई लिएर जारी तनावले विश्व ऊर्जा बजारलाई थप अवरोधको जोखिममा पारेको छ ।

    जहाजमाथि आक्रमण हुने त्राससँगै ढुवानी र बीमा खर्च बढ्दा सामान्य आवागमन पुनःस्थापित गर्ने प्रयास जटिल बनेको छ ।

    स्वतन्त्र तथ्याङ्कअनुसार पछिल्ला दिनमा स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गरिरहेका व्यावसायिक जहाजमाथिका आक्रमण युद्ध सुरु भएयताकै उच्च स्तरमा पुगेका छन् ।

    पछिल्लो ४८ घण्टामा होर्मुज क्षेत्र वरपर तेल ट्याङ्करलगायत व्यावसायिक जहाजसँग सम्बन्धित कम्तीमा पाँचवटा घटना भएका छन् ।

    समुद्री सुरक्षा स्रोतहरूको तथ्याङ्क विश्लेषण र बेलायती नौसेनासँग सम्बन्धित निकाय युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)मा प्राप्त विवरणअनुसार ती घटनामा ड्रोन आक्रमणसमेत छन् ।

    संयुक्त राष्ट्रसङ्घको जलयानसम्बन्धी निकाय अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ)को तथ्याङ्कअनुसार अक्टोबर ३ देखि ५ सम्म देखिएको आक्रमणको गतिसँग पछिल्लो अवस्था लगभग मेल खान्छ ।

    यसले तनाव फेरि बढेको सङ्केत गर्छ ।

    एक समुद्री सुरक्षा स्रोतले भने, ‘आक्रमणको गति बढेको छ र यो जानाजानी गरिएको जस्तो देखिन्छ ।’

    होर्मुजभन्दा बाहिर पनि आक्रमण विस्तार गर्ने इरानको योजना

    इरानले नयाँ रणनीतिअन्तर्गत आफ्नो सैन्य कारबाहीको भौगोलिक दायरा स्ट्रेट अफ होर्मुजबाट बाहिर ओमानको खाडी र अझ टाढाका समुद्री क्षेत्रमा विस्तार गर्ने योजना बनाएको अधिकारीहरूले बताएका छन् ।

    यूकेएमटीओ र क्षेत्रीय समुद्री सुरक्षा कम्पनीहरूमा प्राप्त आक्रमणसम्बन्धी विवरणको विश्लेषणले इरानले यस्तो विस्तार सुरु गरिसकेको हुन सक्ने देखाएको छ ।

    पछिल्ला दिनमा कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को तटीय क्षेत्रनजिक पनि जहाजलाई लक्षित गरिएको विवरण सार्वजनिक भएका छन् ।

    इरानका अर्का अधिकारीले ट्रम्पलाई अमेरिकी निर्वाचनअघि तेलको मूल्य घटाउन नदिने बताए ।

    उनले भने, ‘उनीहरूले मूल्य घट्ने बिन्दु नजिक पुगेको ठान्नेबित्तिकै हामी उनीहरूलाई फेरि त्यहाँबाट टाढा धकेल्नेछौँ । यो बुद्धिचालको खेल हो ।’

    उनले थपे, ‘त्यस्ता जहाजहरू स्ट्रेट अफ होर्मुजभन्दा बाहिर पनि कतै सुरक्षित हुने छैनन् ।’

    अमेरिकी रक्षा मन्त्रालय र इरानको विदेश मन्त्रालयले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन् ।

    होर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने चेतावनी
    इरानका दुवै अधिकारीले तेहरान आफ्नो प्रतिबन्ध उल्लङ्घन गर्ने कुनै पनि जहाजलाई स्ट्रेट अफ होर्मुजबाट पार हुन नदिने अवस्थातर्फ अघि बढिरहेको बताएका छन् ।

    एक अधिकारीले भने, ‘चाँडै पूर्ण बन्द हुनेछ ।’

    अमेरिकी नौसेनाको नेतृत्वमा रहेको संयुक्त सामुद्रिक सूचना केन्द्र (जेएमआईसी)ले आइतबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजमाथिको खतरा अझै ‘गम्भीर’ रहेको जनाएको छ ।

    केन्द्रको जोखिम वर्गीकरणमा यो दोस्रो उच्च तह हो ।

    प्रतिवेदनमा आईआरजीसीका आक्रमण, आक्रमणका प्रयास तथा जहाजलाई दुःख दिने गतिविधि जारी रहेको उल्लेख छ ।

    ती गतिविधिमा मानवरहित हवाई उपकरण (यूएभी)बाट निगरानी, व्यावसायिक जहाजको लक्षित निगरानी र कहिलेकाहीँ भिएचएफ रेडियोमार्फत जहाजलाई सम्पर्क गरी निर्देशन दिने गतिविधि समावेश छन् । –रोयटर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images