काठमाडौ– साउदी अरबीयाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको प्रेम कहानी देवी भागवतका कृष्णको जस्तै देखिएको छ। उनको प्रेम, डेटिङ र सन्तान प्राप्तीको रोचक कहानी संसदीय सुनुवाई समितिले फेला पारेको छ।
समितिमा पीडित महिलाबाट परेको उजुरीमा उल्लेख भएअनुसार ओशो तपोवनमा ध्यान गर्न जाँदा ओशो तपोवनले आयोजना गरेको ऋषिकेश शिविरमा भेट भएकी उनीसँग सुनारको अफेयर भयो । उजुरीमा दाबी गरिएअनुसार सुनारले आफ्नी श्रीमतीसँग राम्रो सम्बन्ध नरहेको भनेर ती महिलासँग सम्बन्ध प्रगाढ बनाए । उनीहरू प्रायः पुरानो शेर्पा मलको बाहिर भेट्ने गर्थे ।
उनीहरू लामो समय प्रेम सम्बन्धमा रहे । तर, ती महिलाका श्रीमान अमेरिकामा थिए । सन् २०१२ मा श्रीमान् अमेरिकाबाट श्रीमती लिन नेपाल आए । तर ती महिला र सुनारबीच घनिष्ठ सम्बन्ध थियो । उनीहरु लैला मजुन जोडी जस्तै नछुट्ने अवस्थामा थिए। त्यसैले ति महिलाले आफ्ना श्रीमान त्यागेर सुनारसंगै रहने निधो गरिन् । ती महिलाले यूएसए जान्न भन्दा सुनारले ‘तिमी जाऊ अनि मलाई बोलाऊ’ भनेर फकाएको उजुरीमा उल्लेख छ ।
किनकि, सुनारले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिएनन् । ती महिलाले अमेरिका गएपछि सुनारको छोरी जन्माइन् । छोरी जन्मिएपछि सुनारले आफू यूएसए आउने र छोरीको बाबुको नाम आफ्नो राख्नुपर्ने, ती महिलाले श्रीमान्सँग सम्बन्धविच्छेद गर्नुपर्ने भनेर दबाब दिए । यो विषय जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेको र दुवै पक्षले मेलमिलाप गरेको भनिएको छ । यही विवरण संसदीय सुनुवाइ समितिले मगाएर अध्ययन गर्दैछ ।
यस्तो दबाब निरन्तर दिइरहने र आफूले भनेको नमाने ती महिलाको श्रीमन्लाई जे पनि गरिदिने भनेर धम्की दिएको, समुद्रमा हाम फालेर आत्महत्या गर्न दबाब दिएको जस्ता विषय उजुरीमा छन् । साथै, ती महिलाको परिवारलाई अन्तरंग तस्वीरसमेत पठाएको दाबी उजुरीमा छ ।
यो विषय जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेको र दुवै पक्षले मेलमिलाप गरेको भनिएको छ । यही विवरण संसदीय सुनुवाइ समितिले मगाएर अध्ययन गर्दैछ ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार प्राप्त उजुरीको तथ्य केलाउने क्रममा थप कागजात अध्ययन गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट विवरण माग गर्ने निर्णय भएको छ ।
सुनारविरुद्ध परेको अर्को एक उजुरीले समेत उनको राजदूत बन्ने धोकोमा धक्का लाग्ने संभावना बलियो बनेको छ। जर्मनी गएका बेलामा जर्मनीले नेपाल नै फर्काइदिएको भन्दै परेको उजुरीको सम्बन्धमा यथार्थ के हो भनेर परराष्ट्र मन्त्रालयसँग माग गरिएको छ ।
विवाहेत्तर सम्बन्ध राखेको र पछि मेलमिलाप गरेर सम्बन्ध तोडेको भन्ने विषयको विवरण संँगै यो दुबै बिषयमा ललितपुर जिल्ला प्रहरी कार्यालयसँग मागिएको छ । दुवै निकायबाट विवरण लिएर र उजुरीलाई एकै ठाउँमा राखेर तथ्य केलाउने र त्यस आधारमा संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतसँग सवालजवाफ गर्ने सुनुवाइ समिति र समिति सदस्यहरूको तयारी छ ।
उजुरीमा उल्लेख भएअनुसार सुनारले यही विषयमा दुई पटक ललितपुर प्रहरी कार्यालयमा माफी मागेका थिए । उनले प्रहरीमा माफी मागेको र मिलापत्र भएको कागजातका प्रतिलिपि तथा घटनासँग सम्बन्धित सन्देशका स्क्रिनसटसमेत समितिमा बुझाएको छ ।
यसका साथै, संसदीय समितिले सुनारलाई विगतमा जर्मनीबाट डिपोर्ट गरिएको थियो कि थिएन भन्नेबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग विवरण मागेर अध्ययन गर्दैछ ।
संसदीय सुनुवाइ समितिले गत सोमबार उजुरीकर्तालाई बोलाएर यस विषयमा गोप्य छलफल गरेको थियो । छलफलपछि यी विवरण मगाएर समितिले तथ्य जाँच्ने निर्णय गरेको हो ।
सुनारमाथि महिला हिंसा,धम्की,विवाहेत्तर सम्बन्ध, विदेशबाट निष्कासित भएको र वित्तीय अनियमिततालगायतका आरोपसहित परेको उजुरीउपर संसदीय सुनुवाइ समितिमा आज पुनः सुनुवाइ हुँदैछ ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा आज समितिको संयुक्त बैठक सुरु भएको छ । समिति सभापति बोधनारायण श्रेष्ठको सभापतित्वमा बसेको बैठकमा पदमाकुमारी अर्याल, प्रेमप्रसाद ढुङ्गेल,वर्षमान पुन,राजीव खत्री,कविन्द्र बुर्लाकोटीलगायत उपस्थित छन् ।























