काठमाडौं – बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठमा कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थीका दिन नवदुर्गामध्ये चौथो स्वरूप कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ ।
घटस्थापनासँगै सुरु भएको नवरात्रमा नौ दिनसम्म दुर्गाका नौवटा स्वरूपको पूजा आराधना गरिन्छ। सोही परम्पराअनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको चहलपहल बढेको छ ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी मन्दिरमा भक्तजन पुगिरहेका छन्। दसैँको नवरात्रमा यी शक्तिपीठमा विशेष पूजाआराधना गर्ने धार्मिक परम्परा छ ।
त्यसैगरी उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी र डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढेको छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने चलन छ । देवीको आराधना र पूजाबाट शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा गर्ने गर्छन् ।
धार्मिक मान्यताअनुसार नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको पूजा गरिन्छ। त्यसपछि क्रमशः पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ ।
दसैँको आगमनसँगै उपत्यकाका विभिन्न शक्तिपीठलाई रङ्गीचङ्गी बत्तीले सजाइएको छ। नक्साल भगवती, शोभा भगवती र नाला भगवतीका देवीलाई दिदीबहिनी मान्ने धार्मिक तथा सांस्कृतिक मान्यता पनि प्रचलित छ ।























