images
images
  • बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

    काठमाडौं – भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गंगा नदी पार गर्ने क्रममा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मङ्गलबार राति करिब साढे ८ बजे भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति एउटा सानो डुंगामा सवार थिए । नदी पार गर्ने क्रममा डुंगा पल्टिएपछि उनीहरू नदीमा डुबेका थिए ।

    घटनालगत्तै उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो । मृतकमध्ये पिंकी, अंकिता, सुनीता, आर्यन, अलिशा, सिकी, भोणु र मीराको सनाखत भएको प्रहरीले जनाएको छ। मृतकमध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेको विवरणमा उल्लेख छ ।

    वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार दुर्घटनामा घाइते भएका सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल ९पीएमसीएच० पठाइएको छ। घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल ९एसडीआरएफ० को टोलीले उद्धार तथा खोजी कार्य जारी राखेको छ ।

    दुर्घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । उनीहरूले प्रशासनविरुद्ध नाराबाजी गर्नुका साथै घटनास्थल पुगेकी जिल्ला अधिकारी सिंहलाई घेराउ गरेर आक्रोश व्यक्त गरेका थिए ।

    यसैबीच, दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई बिहार सरकारले जनही चार लाख भारतीय रुपैयाँ र भारतीय प्रधानमन्त्री कार्यालयले थप दुई लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको विवरणमा उल्लेख छ। घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ राहत दिने निर्णयसमेत गरिएको छ ।

    नदी पार गर्न सानो डुंगामा क्षमताभन्दा बढी यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा भने उपलब्ध विवरणमा स्पष्ट जानकारी छैन । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images