काठमाडौं– अघिल्ला बाढीपहिरोको घाउ निको नहुँदै गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति गरेको छ । आइतबार आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका बस्ती, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले तीन दर्जनभन्दा बढी घर बगाएको छ । गोरखा र धादिङ जोड्ने आरुघाट पुलको एक भाग, सोतीखोलाको पक्की पुल तथा विभिन्न झोलुंगे पुलमा क्षति पुगेको छ । बाढीले निर्माणाधीन जलविद्युत् आयोजनाका क्याम्प, उपकरण, टेलिफोन टावर र विद्युत्का पोलसमेत बगाएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–विशालनगरका करिब १०० घरमा लेदो पसेको छ । बाढीबाट प्रभावित तथा जोखिममा परेका बासिन्दाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । नेपाली सेनाका हेलिकप्टरबाट चार दर्जनभन्दा बढी मानिसको उद्धार गरिएको प्रारम्भिक विवरण छ । सम्पर्कविहीन भएकाहरूको खोजी तथा क्षतिको विवरण संकलन भइरहेको छ ।
बाढीको कारण अझै पुष्टि भएको छैन । प्रारम्भिक अनुमानअनुसार चुमनुब्री गाउँपालिका–३ आसपासको माथिल्लो क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि खुलेपछि लेदो तथा गेग्रानसहितको आकस्मिक बाढी आएको हुनसक्छ । भूगर्भविद्सहितको टोलीले बाढीको उद्गम क्षेत्र र भौगर्भिक अवस्थाबारे अध्ययन गर्ने तयारी गरेको छ ।
दशैँ–तिहारको मुखमा आएको यो विपत्तिले प्रभावित परिवारलाई थप संकटमा पारेको छ । घरबास गुमाएका परिवारको पुनःस्थापना, सडक तथा पुलको मर्मत र विद्युत् तथा सञ्चार सेवा सञ्चालन तत्कालका चुनौती बनेका छन् ।
यसअघि भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी र असोजमा देशका विभिन्न भागमा परेको अविरल वर्षा तथा बाढीपहिरोले ठूलो क्षति गरेको थियो । ती विपत्तिको असर कायम रहँदै बूढीगण्डकीमा आएको बाढीले फेरि अर्को संकट थपेको छ ।























