images
images
  • सरकारले ल्यायो पहिलोपटक ‘नागरिक बजेट’, अब सर्वसाधारणले बुझ्नेछन् बजेटका प्राथमिकता

    काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आमनागरिकले सहजै बुझ्न सक्ने गरी पहिलोपटक ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले बजेट निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्मका व्यवस्था सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट सार्वजनिक गरेको हो ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटलाई आधार बनाएर तयार पारिएको नागरिक बजेट शनिबार सार्वजनिक गरिएको हो । यसमा सरकारले राजस्व कहाँबाट जुटाउँछ, कुन क्षेत्रमा कति खर्च गर्छ र बजेटबाट नागरिकले के–कस्ता लाभ पाउन सक्छन् भन्ने विषय समेटिएका छन् ।

    नागरिक बजेटमा बजेट निर्माण प्रक्रिया, कार्यान्वयन र अनुगमनसम्बन्धी व्यवस्थालाई सरल भाषामा बुझाइएको छ । साथै, बजेटसँग सम्बन्धित प्राविधिक शब्दको अर्थसमेत समावेश गरिएको छ ।

    सरकारका अनुसार नागरिक बजेट सार्वजनिक गर्नुको मुख्य उद्देश्य बजेटसम्बन्धी जानकारी आमनागरिकसम्म पुर्‍याउनु, बजेट प्रक्रियामा नागरिकको सहभागिता बढाउनु र सार्वजनिक खर्चप्रति नागरिकको निगरानीलाई प्रभावकारी बनाउनु हो ।

    यसबाट सरकारका प्राथमिकता, विकास योजना र सार्वजनिक स्रोतको विनियोजनबारे नागरिकले जानकारी पाउने आशा गरिएको छ । बजेट निर्माण तथा कार्यान्वयनमा नागरिकको स्वामित्व बढाउने, सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता कायम गर्ने र सरकारलाई नागरिकप्रति जवाफदेही बनाउने लक्ष्यसमेत राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

    अर्थमन्त्री वाग्लेले नागरिक बजेटमार्फत वार्षिक बजेटका प्राथमिकता, प्रमुख व्यवस्था र विकासका लक्ष्यलाई सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गरिएको उल्लेख गरेका छन् ।

    राज्यको स्रोतसाधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन तथा जवाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले नागरिक बजेटले बजेटसम्बन्धी जानकारी आमनागरिकसम्म पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images