images
images
  • लाओसमा चीनको नयाँ हवाई सैन्य अखडा, दक्षिण–पूर्वी एसियामा प्रभाव विस्तारको संकेत

    काठमाडौं – चीनले लाओसको राजधानी भियनतियान नजिकै संयुक्त सैन्य तालिम केन्द्र सञ्चालनमा ल्याएसँगै मुख्य भूमि दक्षिण–पूर्वी एसियामा आफ्नो सैन्य उपस्थिति विस्तार गरेको छ । लाओसमा रहेको बान कुन हवाई अखडामा चीन र लाओसको संयुक्त तालिम केन्द्र सञ्चालनमा आएको हो । यसलाई क्षेत्रमा चीनको सैन्य पहुँच विस्तार गर्ने सम्भावित कदमका रूपमा सुरक्षा विश्लेषकहरूले हेरिरहेका छन् ।

    भियनतियानबाट करिब ६५ किलोमिटर उत्तरमा र थाइल्यान्डको सीमाबाट करिब ४० किलोमिटर दूरीमा रहेको उक्त हवाई अखडा कुनै समय भियतनाम युद्धका क्रममा अमेरिकी गुप्तचर निकाय सीआईएसँग सम्बन्धित हवाई गतिविधिका लागि प्रयोग भएको थियो । चीनको रक्षा मन्त्रालयका अनुसार, दुवै देशका वायुसेनाको क्षमता विकास तथा लाओसका पाइलटलाई तालिम दिन संयुक्त केन्द्र स्थापना गरिएको हो । यसको सञ्चालन र मर्मतसम्भार दुवै देशले संयुक्त रूपमा गर्ने जनाइएको छ ।

    व्यावसायिक स्याटेलाइट सेवा प्रदायक भान्टोरले खिचेका तस्बिरमा उक्त हवाई अखडामा कम्तीमा आठ वटा हल्का आक्रमणकारी विमान र दुई दर्जनभन्दा बढी सहयोगी सवारीसाधन देखिएको विवरण सार्वजनिक भएको छ । सुरक्षा मामिलाका विज्ञहरूका अनुसार त्यहाँ देखिएका विमान चिनियाँ होङडु जेएल–८ मोडलका हुन् । के–८ नामले समेत चिनिने यी दुई सिटे विमान पाइलट प्रशिक्षण तथा हल्का आक्रमणका लागि प्रयोग गरिन्छन् । चीन र पाकिस्तानले संयुक्त रूपमा विकास गरेका यी विमान चीन र लाओससहित विभिन्न देशका वायुसेनाले सञ्चालन गर्दै आएका छन् ।

    लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजको सैन्य मूल्याङ्कनअनुसार लाओससँग यस प्रकारका चार वटा विमान छन् । सिंगापुरस्थित एस.राजारत्नम स्कुल अफ इन्टरनेसनल स्टडिजका सुरक्षा विश्लेषक कोलिन कोहले लाओससँग रहेका विमानको वास्तविक सञ्चालन क्षमतामाथि प्रश्न उठाएका छन् । यस पृष्ठभूमिमा चीनको सहयोगमा विकसित हुँदै गएको हवाई अखडाले लाओसको वायुसेना आधुनिकीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    यद्यपि, हवाई अखडाको तीव्र विकासले यसको भूमिका तालिममा मात्र सीमित रहने हो वा भविष्यमा चीनको व्यापक सैन्य गतिविधिका लागि समेत प्रयोग हुन सक्छ भन्ने विषयमा बहस सुरु भएको छ । क्षेत्रीय सैन्य सहचारी र सुरक्षा विज्ञहरूले त्यहाँ हवाई प्रतिरक्षा प्रणाली, गोला–बारुद तथा इन्धन भण्डारण र निगरानीसम्बन्धी पूर्वाधार निर्माण भइरहेको छ वा छैन भन्ने विषयमा चासो राखेका छन् । यस्ता सुविधा विकास भएमा उक्त अखडाले तालिम केन्द्रभन्दा फराकिलो सैन्य भूमिका निर्वाह गर्न सक्ने विश्लेषण गरिएको छ ।

    दुई दशकभन्दा बढी समयदेखि सैन्य आधुनिकीकरणमा जोड दिँदै आएको चीनसँग दक्षिण चीन सागरबाहिर विदेशी सैन्य सुविधाको सीमित सञ्जाल रहेको मानिन्छ । सन् २०१७ मा पूर्वी अफ्रिकाको जिबुटीमा स्थापना गरिएको सैन्य रसद तथा आपूर्ति केन्द्र चीनको विदेशस्थित प्रमुख सैन्य सुविधामध्ये एक हो । त्यस्तै, कम्बोडियाको रिम नौसैनिक अखडामा चीनको पहुँचलाई पनि क्षेत्रीय सुरक्षा विश्लेषकहरूले नजिकबाट नियाल्दै आएका छन् ।

    अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटकी वरिष्ठ विश्लेषक राचेल भानडेनब्रिंकका अनुसार, लाओसमा चीनको पहुँच विस्तार हुनुको कारण कुनै स्पष्ट परिचालन आवश्यकता पूरा गर्नु मात्र नभई उपलब्ध भू–रणनीतिक अवसरको उपयोग गर्नु पनि हुन सक्छ । चीनसँगको साझा सीमा तथा रेलमार्गलगायतका पूर्वाधार सम्पर्कले लाओसलाई मुख्य भूमि दक्षिण–पूर्वी एसियामा रणनीतिक रूपमा महत्त्वपूर्ण बनाएको उनको विश्लेषण छ ।

    हवाईस्थित प्यासिफिक फोरमका सह–अध्येता अलेक्जेन्डर निलका अनुसार, हालको हवाई अखडा तुलनात्मक रूपमा सामान्य देखिए पनि यसको संरचनाले भविष्यमा धावनमार्ग विस्तार गरी ठूला विमान सञ्चालन गर्न सकिने सम्भावना देखाउँछ। त्यस्तो क्षमता विकास भएमा चीनले दक्षिण–पूर्वी एसियामा निगरानी, गुप्तचर सूचना सङ्कलन तथा अन्य हवाई गतिविधि सञ्चालन गर्न सहज पहुँच प्राप्त गर्न सक्ने विश्लेषकहरूको भनाइ छ। यद्यपि, उक्त अखडा भविष्यमा पूर्णस्तरीय विदेशी सैन्य अखडाका रूपमा विकास हुन्छ भन्ने विषयमा अहिलेसम्म निश्चित निष्कर्ष निस्किएको छैन।

    बान कुन हवाई अखडाको ऐतिहासिक पृष्ठभूमि पनि चासोको विषय बनेको छ । सन् १९६० र १९७० को दशकमा लाओसमा कम्युनिस्ट शक्तिविरुद्ध अमेरिकी संलग्नता रहेको युद्धका क्रममा उक्त स्थानलाई ‘लिमा साइट ४४’ का रूपमा चिनिन्थ्यो। अमेरिकी गुप्तचर निकाय सीआईएसँग सम्बन्धित गोप्य विमान सेवा एयर अमेरिकाले त्यहाँबाट हेलिकप्टर सञ्चालन गर्दै आएको ऐतिहासिक अभिलेखमा उल्लेख छ । उक्त सेवामार्फत अमेरिकासमर्थित हमोङ समुदायका लडाकु तथा आवश्यक सामग्रीलाई दुर्गम पहाडी क्षेत्रका हवाई मैदानसम्म पुर्‍याइन्थ्यो ।

    इतिहासकार तथा यस विषयका अध्येताहरूका अनुसार सन् १९६८ देखि नै बान कुन क्षेत्रलाई एयर अमेरिकाका हेलिकप्टर सञ्चालनका लागि प्रयोग गरिँदै आएको थियो । अहिले चीनको सहयोगमा त्यही स्थानमा नयाँ सैन्य पूर्वाधार विकास हुनु ऐतिहासिक दृष्टिले पनि उल्लेखनीय मानिएको छ ।

    लाओसमा चीनको बढ्दो सैन्य सहकार्यले क्षेत्रीय सुरक्षा सन्तुलन, छिमेकी मुलुकसँगको सम्बन्ध र दक्षिण–पूर्वी एसियामा प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धाबारे नयाँ प्रश्न उठाएको छ। चीन र लाओसले यस केन्द्रलाई पाइलट तालिम तथा क्षमता विकासमा केन्द्रित संयुक्त परियोजनाका रूपमा प्रस्तुत गरेका छन् । तर, पूर्वाधारको थप विस्तार र त्यहाँ उपलब्ध हुने सैन्य सुविधाले भविष्यमा यसको वास्तविक रणनीतिक भूमिका निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images