काठमाडौं – प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा जाँचका क्रममा लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–८ बाट ३२ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र रु. ३० हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ । त्यस्तै, काठमाडौंको सुन्धाराबाट एक जना, सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोलबाट एक जना तथा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित तफाखल पार्कबाट एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट पाँच किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा र नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटबाट एक–एक जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–७ बाट चार जना तथा मोरङको कानेपोखरी गाउँपालिका–६ बरगाछी चोकबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट ट्रामाडोल एक हजार ६१० ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र रु. ६७ हजार ४०० नगदसहित एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले बरामद लागुऔषध तथा नगदको स्रोतबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित सोही स्थानका रामनरेश कुर्मी पक्राउ परेका छन् । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट एक जना र कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ । विभिन्न स्थानमा गरिएको कारबाहीबाट लागुऔषध ओसारपसार तथा अवैध कारोबार नियन्त्रण गर्ने प्रयासलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।


विश्व खबर 



















