images
images
  • मौसमको सूचना पत्याउँदा किसानको धान खेतमै भिज्यो, पश्चिम नेपालका किसान मारमा

    काठमाडौं – मौसम पूर्वानुमानसम्बन्धी सूचनामा अन्योल हुँदा पश्चिम नेपालका किसानले ठूलो क्षति बेहोर्नुपरेको छ । वर्षाको सम्भावनाबारे मौसमविज्ञहरूले सचेत गराए पनि मौसम पूर्वानुमान महाशाखाले वर्षाबारे फैलिएको खबरलाई ‘भ्रामक’ भनेपछि ढुक्क भएर धान काटेका किसान अहिले बाली भिजेर नष्ट हुँदा चिन्तित बनेका छन् ।

    केही दिनअघि मौसमविज्ञ विनोद पोखरेललगायतले असोज १७ गते आसपासदेखि वर्षा हुन सक्ने भन्दै किसानलाई सचेत गराएका थिए । त्यसपछि मौसम पूर्वानुमान महाशाखाले औपचारिक सूचना जारी गर्दै असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुने भन्ने खबर भ्रामक रहेको र मौसमी गतिविधिमा खासै फेरबदल नदेखिएको जनाएको थियो ।

    सरकारी निकायको सूचनापछि वर्षा नहुने अनुमानमा रहेका किसानले असोज १७ र १८ गते पाकेको धान काटेर खेतमा सुकाउन राखेका थिए । तर, असोज २०, २१ र २२ गतेसहित पछिल्ला दिनमा परेको अविरल वर्षाले काटेर सुकाइएको धान भिजेको छ । यसले धान भित्र्याउने मुख्य समयमा किसानलाई ठूलो आर्थिक क्षति पुर्‍याएको छ ।

    विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धानबाली प्रभावित भएको छ । लुम्बिनी प्रदेशका बर्दिया, बाँके, रूपन्देही र कपिलवस्तुलगायत जिल्लामा पाक्न लागेको तथा काटेर खेतमा सुकाइएको धानमा क्षति पुगेको छ । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेका अनुसार विभिन्न जिल्लाबाट धानबालीमा क्षति पुगेको विवरण प्राप्त भइरहेका छन् ।

    पश्चिमी वायुको प्रभावका कारण कैलाली र बर्दियामा असोज १९ गते राति हावाहुरीसहित भारी वर्षा भएको थियो । कैलालीमा खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको छ । धान भित्र्याएर दसैँ मनाउने तयारीमा रहेका किसानलाई वर्षाले थप समस्यामा पारेको छ ।

    कैलालीका किसान सरोज चौधरीले मौसमसम्बन्धी सूचनामा स्पष्टता नहुँदा आफूहरूले क्षति बेहोर्नुपरेको गुनासो गरे ।

    “पहिले पानी पर्ने हल्ला भयो, धान काटेका थिएनौँ । फेरि पानी नपर्ने भन्दै सरकारी सूचना भाइरल भयो, समाचार पनि त्यस्तै आयो । त्यही भएर धान काट्यौँ, तर काटेको धान पूरै भिज्यो,” उनले भने ।

    सरकारले वर्षा हुने वा नहुनेबारे स्पष्ट सूचना दिएको भए धेरै किसानले धान नकाट्ने चौधरीको भनाइ छ । “कुरा नै प्रस्ट भएन, पानी पर्दैन भनेर सबैले धान काटे । धान भित्र्याएर दसैँ मनाउने भनेको, धान नै काम नलाग्ने भयो,” उनले दुःख व्यक्त गरे ।

    बर्दियामा पनि धानबालीमा व्यापक असर परेको छ । गुलरिया र मधुवन नगरपालिकालगायत क्षेत्रमा असोज १९ गते राति चलेको तीव्र हावाहुरीले पाकेको धान ढालेको छ । त्यसपछि परेको वर्षाले खेतमा पानी जम्दा ढलेको धान डुबेको छ ।

    धान पाकेर काट्ने र भित्र्याउने समयमा भएको वर्षाले किसानको मेहनत र लगानी जोखिममा परेको छ । खेतमा पानी जम्दा काटेर सुकाउन राखिएको धान भिज्नुका साथै ढलेको धानसमेत प्रभावित भएको छ ।

    यस घटनाले मौसम पूर्वानुमानसम्बन्धी सूचना किसानसम्म स्पष्ट र समयमै पुर्‍याउनुको महत्त्वलाई पुनः उजागर गरेको छ । विशेषगरी धान भित्र्याउने समयमा वर्षाको सम्भावना, जोखिमयुक्त क्षेत्र र अपनाउनुपर्ने सावधानीबारे विश्वसनीय सूचना उपलब्ध गराउन सके किसानले बाली जोगाउन आवश्यक निर्णय लिन सक्नेछन् । पश्चिम नेपालका किसानले भोगेको क्षतिपछि अब प्रभावित क्षेत्रको यकिन विवरण सङ्कलन, क्षतिको मूल्याङ्कन र किसानलाई आवश्यक सहयोग उपलब्ध गराउने विषय पनि महत्त्वपूर्ण बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images