images
images
  • शिक्षकलाई ५० लाखसम्मको सवारीसाधन कर्जामा ब्याज सहुलियत दिने प्रस्ताव

    काठमाडौं – शिक्षकलाई सवारीसाधन खरिदका लागि ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।

    शिक्षा मन्त्रालयले अघि बढाएको प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् ।

    त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

    प्रस्तावित नियमावलीमा सवारीसाधन खरिदका लागि बैंकमार्फत लिइने कर्जाको किस्तामा लाग्ने ब्याजको ८० प्रतिशतसम्म सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था गरिएको छ । यसबाट शिक्षकलाई सवारीसाधन खरिद गर्न आर्थिक सहजता हुने विश्वास गरिएको छ ।

    शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिका लागि नियमावली पठाएको हो । प्रस्तावित व्यवस्था लागू हुन सम्बन्धित निकायबाट सहमति तथा आवश्यक प्रक्रिया पूरा हुनुपर्नेछ ।

    नियमावलीमा प्रस्ताव गरिएका सुविधा स्वीकृत भएमा तह र श्रेणीअनुसार शिक्षकले तोकिएको सीमाभित्र सवारीसाधन खरिद गर्दा ब्याज सहुलियत पाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images