काठमाडौं – रौतहटको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथिको बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको छ । पुलका विभिन्न संरचना कमजोर हुँदै गएको भन्दै स्थानीयले सम्भावित दुर्घटना रोक्न तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
गौरस्थित महादेव मन्दिरबाट केही मिटर पश्चिमतर्फ रहेको उक्त पुल मधेस प्रदेशका लामामध्ये एक झोलुङ्गे पुलका रूपमा परिचित छ । पुल सञ्चालनमा आएदेखि गौर र ईशनाथ क्षेत्रका स्थानीय बासिन्दा, पैदलयात्री तथा साइकल र मोटरसाइकल चालकले नियमित आवागमनका लागि यसको प्रयोग गर्दै आएका छन् ।
तर, पछिल्लो समय पुलमा जडान गरिएका फलामे जाली, नटबोल्ट तथा भार थेग्ने मुख्य फलामे तार कमजोर हुँदै गएको स्थानीयको गुनासो छ । पुलका विभिन्न स्थानमा फलामे तार नटबोल्टबाट छुट्टिएर झुन्डिएको तथा कतिपय संरचना खुकुलो भएको उनीहरूले बताएका छन् ।
स्थानीयका अनुसार पुलका दुवैतर्फ रहेका भार थेग्ने मुख्य फलामे तारसमेत विभिन्न ठाउँमा खुस्किने र लचिलो हुने समस्या देखिएको छ । दैनिक आवागमनका लागि यही पुलमा निर्भर रहनुपर्ने भएकाले संरचनामा देखिएको कमजोरीले सर्वसाधारणमा दुर्घटनाको त्रास बढाएको छ ।
स्थानीयले पुलको अवस्था बिग्रँदै जाँदा पनि समयमै मर्मत नगरिए गम्भीर दुर्घटना हुन सक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले दुर्घटना भएपछि मात्र कदम चाल्ने प्रवृत्तिभन्दा जोखिम देखिनेबित्तिकै आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।
पुलको वास्तविक अवस्था पहिचान गर्न प्राविधिक टोलीबाट तत्काल स्थलगत निरीक्षण र संरचनागत परीक्षण गर्नुपर्ने देखिएको छ । परीक्षणका आधारमा जोखिमयुक्त भागको मर्मत, आवश्यक सुरक्षा व्यवस्था तथा मर्मत सम्पन्न नहुँदासम्म आवागमन नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ ।
स्थानीयले सम्बन्धित नगरपालिका तथा पुलको रेखदेख गर्ने जिम्मेवारी पाएको निकायलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन् । सर्वसाधारणको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको पुलको समयमै मर्मत गरी सम्भावित दुर्घटना रोक्नुपर्ने उनीहरूको भनाइ छ ।


विश्व खबर 




















