काठमाडौं – सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ ।
गोलबजार नगरपालिका–१ स्थित बलडाँडा मुसहर बस्तीमा सहदेव यादवको जग्गामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार राति छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बलको सुरक्षा बेस गोलबजारबाट खटिएको संयुक्त टोलीले राति करिब ८ः३० बजे गरेको अनुगमनका क्रममा ग्राभेल लोड गरिएका टिपर तथा उत्खननमा प्रयोग भएको जेसिबी फेला पारेको हो ।
प्रहरीले को १ ख ४१५७, प्र.२–०१–००१ क ०१७०, म.प्र.०२–००१ क ०२८५, मे १ क ६५०, म.प्र.०३–००१ क ३०२८ र म.प्र.०३–००१ क ३२३५ नम्बरका टिपर तथा ज १ क ०७५२ नम्बरको जेसिबी नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका सवारीसाधन हाल सशस्त्र प्रहरी बलको सुरक्षा बेस गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार घटनास्थलबाट फरार भएका चालकहरूको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धानसमेत जारी रहेको प्रहरीले जनाएको छ ।


विश्व खबर 




















