काठमाडौं – दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक गाउँघर फर्किन थालेपछि प्रमुख बसपार्कदेखि उपत्यका बाहिरिने नाकासम्म चहलपहल बढेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष दसैँ, तिहारलगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरेको बताए ।
उनका अनुसार दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढिरहेको छ । चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक यातायातमा यात्रुको चाप अझ बढ्ने अनुमान गरेको उनले बताए ।
बसपार्कमा बढ्यो चहलपहल
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौँलाका अनुसार उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै सार्वजनिक सवारीसाधनमा पनि चाप बढ्न थालेको छ ।
देशका विभिन्न जिल्लातर्फ जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारीसाधन सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
दसैँको मुख्य समय नजिकिँदै जाँदा काठमाडौँका प्रमुख बसपार्कमा टिकट काट्ने यात्रुको भीड थप बढ्ने देखिएको छ । लामो दूरीका सवारीसाधनमा अग्रिम टिकट बुकिङ गर्ने यात्रुको सङ्ख्यासमेत बढ्दै गएको छ ।
बढी भाडा र क्षमताभन्दा बढी यात्रु बोक्नेमाथि निगरानी
चाडपर्वका बेला यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारीसाधनको अवस्था, भाडादर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर अनुगमन बढाइएको छ ।
सम्बन्धित निकायले यात्रुलाई तोकिएको भाडा मात्र तिर्न र आधिकारिक टिकट काउन्टरबाट टिकट लिन आग्रह गरेका छन् । यात्रुको चापको मौका छोपेर बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा असुरक्षित रूपमा सवारी सञ्चालन गर्ने गतिविधिमाथि निगरानी बढाइने जनाएको छ ।
नाकामा ट्राफिक प्रहरीको निगरानी बढाइने
चाडपर्वमा उपत्यकाबाट ठूलो सङ्ख्यामा सवारीसाधन बाहिरिने भएकाले मुख्य सडक तथा नाकामा सवारी चाप बढ्ने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सम्भावित भिडभाड हुने स्थानमा थप जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने तयारी गरेको छ । यात्रुको सहज आवागमनसँगै सवारी दुर्घटना न्यूनीकरणलाई समेत प्राथमिकतामा राखिएको ट्राफिक प्रहरीको भनाइ छ ।
चाडपर्वको समयमा सार्वजनिक यातायातमा हुन सक्ने ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारीसाधनको लापरबाहीपूर्ण सञ्चालन रोक्न निगरानी बढाइने जनाएको छ ।
घर फर्किनेको लर्को बढ्दै
दसैँको टीका र पारिवारिक भेटघाटका लागि राजधानी छाड्ने क्रम सुरु भएसँगै काठमाडौँका सडक र बसपार्कमा गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ ।
वर्षभरि राजधानीमा व्यस्त रहने नागरिक दसैँमा परिवार र आफन्तसँग समय बिताउन गाउँघर फर्किने भएकाले आगामी दिनमा यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ ।
सम्बन्धित निकायले यात्रुलाई समयमै अग्रिम टिकट लिन, सवारीसाधनको अवस्था बुझेर यात्रा गर्न, आधिकारिक टिकट काउन्टर प्रयोग गर्न र यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।


विश्व खबर 




















