काठमाडौं – दसैँको पूर्वसन्ध्यामा नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा एकैघरका मामा–भान्जासहित चार जनाको मृत्यु भएको छ । दुर्घटनापछि बाँकेको खजुरा गाउँपालिका–२ स्थित एलगाउँ शोकमा डुबेको छ ।
शनिबार नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटना हुँदा खजुरा–२ का ३६ वर्षीय चालक सुरेश बिसी, कोहलपुर–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको हो ।
मृतकमध्ये सुरेश बिसी र एकेन्द्रराज रेग्मी सहोदर मामा–भान्जा हुन् । दुवै एलगाउँका स्थायी बासिन्दा हुन् । उनीहरूको स्थानीय मानखोला घाटमा दाहसंस्कार गरिएको छ ।
दसैँको मुखमा भएको दुर्घटनाले परिवारसँगै गाउँ नै शोकमा डुबेको स्थानीयले बताएका छन् । यसअघि शुक्रबार कपिलवस्तुमा भएको अर्को बस दुर्घटनामा खजुरा–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको समेत मृत्यु भएको थियो । पछिल्लो दुई दिनमा खजुरा गाउँपालिकाका दुई बस चालकले ज्यान गुमाएका छन् ।


विश्व खबर 



















