images
images
  • फ्रान्समा किन चर्कँदैछ विद्यार्थी आन्दोलन ? पाँच बुँदामा बुझौँ

    काठमाडौं- फ्रान्समा हाल माध्यमिक विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूले शिक्षण संस्थाहरू ठप्प पार्दै सडक प्रदर्शन गरिरहेका छन् । पेरिसका उपनगरहरूबाट सुरु भएको यो आन्दोलन अहिले देशभरका ५०० भन्दा बढी विद्यालय तथा क्याम्पसहरूमा फैलिएको छ ।

    विद्यार्थीहरूको आन्दोलन चर्किएपछि कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरेका छन् । सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाएको छ । सरकारले वामपन्थी राजनीतिक समूहले आन्दोलनलाई थप उक्साएको आरोपसमेत लगाएको छ । विपक्षी पक्षले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

    फ्रान्सको गृह मन्त्रालयका अनुसार आन्दोलनको क्रममा ५ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । शिक्षा मन्त्रालयका अनुुसार प्रदर्शनबाट करिब ७३ प्रतिशत शैक्षिक संस्था प्रभावित भएका छन् ।

    आगामी मंगलबार थप ठूलो प्रदर्शनको तयारी भइरहेको बताइएको छ । प्रदर्शनमा मुख्यतः १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरू सहभागी छन् । उनीहरूले शिक्षकको अभाव, कक्षाकोठाको अवस्था, अत्यधिक अध्ययन तालिका तथा लामो विद्यालय समय जस्ता विषय उठाएका छन् ।

    मुख्य पाँच बुँदा बुझौँ फ्रान्समा जारी विद्यार्थी आन्दोलन-

    १) शिक्षक र कर्मचारीको अभाव

    विद्यार्थीहरूको प्रमुख माग विद्यालयहरूमा शिक्षक र प्रशासनिक कर्मचारीको चरम अभाव पूर्ति गर्नुपर्ने हो । धेरै विषयका स्थायी शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको विद्यार्थीहरूको भनाइ छ । उनीहरूका अनुसार एउटै कक्षामा ३५ जनाभन्दा बढी विद्यार्थी राख्दा बस्ने कुर्सी र बेन्चको समेत अभाव भएको छ ।

    २) शिक्षा क्षेत्रमा बजेट कटौती

    फ्रान्सेली सरकारले सार्वजनिक घाटा र ऋण नियन्त्रण गर्न ल्याएको ५४ अर्ब युरो बचतको बजेट योजनाका कारण शिक्षा क्षेत्रको सुधार पछाडि परेको छ । नयाँ दरबन्दी थप्नुको सट्टा बजेट नियन्त्रण गर्ने सरकारी नीतिका कारण विद्यार्थीहरूसँगै शिक्षक युनियनहरू पनि आन्दोलनमा उत्रिएका छन् । FSU, CGT लगायतका प्रमुख शिक्षक युनियनहरूले विद्यार्थीहरूको आन्दोलनलाई पूर्ण समर्थन गरेका छन् । कक्षाकोठामा अत्यधिक भीडभाड, शिक्षकको कमी र जीर्ण भौतिक अवस्था विद्यार्थीको मात्र नभई सम्पूर्ण सार्वजनिक शिक्षाकै सङ्कट भएको उनीहरूको भनाइ छ । सार्वजनिक सेवामा बजेट कटौती रोक्न, नयाँ दरबन्दी थप्न र तलब वृद्धि गर्न माग गर्दै शिक्षक, स्वास्थ्यकर्मी र अन्य सरकारी कर्मचारीहरू पनि आन्दोलनमा थपिएका छन् ।

    ३) जीर्ण भौतिक पूर्वाधार

    धेरैजसो सरकारी विद्यालयका भवनहरू मर्मतसम्भारको अभावमा जीर्ण अवस्थामा छन् । अत्यधिक गर्मी वा चिसोको समयमा कक्षाकोठामा उपयुक्त अनुकूलन प्रणाली नहुँदा ३५ देखि ४० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षा दिनुपर्ने जस्ता असहज परिस्थितिको सामना विद्यार्थीले गर्नुपरेको छ ।

    ४) बढ्दो सामाजिक-आर्थिक असमानता

    यो आन्दोलन पेरिसका विपन्न तथा श्रमिक वर्ग बसोबास गर्ने उपनगरहरू (जस्तैः Creteil र Seine-Saint-Denis) बाट सुरु भएको थियो । धनी क्षेत्रका विद्यालयको तुलनामा आफूहरूले गुणस्तरीय शिक्षा र आवश्यक स्रोतसाधन नपाएको र राज्यबाट विभेदमा पारिएको अनुभूति विद्यार्थीहरूले गरेका छन् ।

    ५) भर्ना प्रणालीको दबाब र तनाव

    विश्वविद्यालय प्रवेशका लागि अपनाइने ‘Parcoursup’ प्रणालीको मानसिक तनाव र लामो शिक्षण तालिकाबाट विद्यार्थीहरू असन्तुष्ट छन् । प्रदर्शन दबाउन प्रहरीले अश्रुग्यास र बल प्रयोग गर्दा धेरै विद्यार्थी घाइते हुनुका साथै हजारौँलाई नियन्त्रणमा लिइएपछि सामाजिक सञ्जालमार्फत विद्यार्थी आक्रोश झनै चर्किएको छ । प्रहरीले विद्यार्थीहरूमाथि गरेको अत्यधिक बल प्रयोगको शिक्षक युनियनहरूले कडा विरोध गरेका छन् । प्रदर्शनस्थलमा खटिएर धेरै शिक्षकहरूले प्रहरी र विद्यार्थीबीच मानव ढाल बनी विद्यार्थीहरूको रक्षा गरिरहेका छन् ।

    -विभिन्न एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images