images
images
  • प्रसारण लाइन निर्माणका अवरोध हटाउन ऊर्जा मन्त्रालयको पहल

    काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइन आयोजनामा देखिएका अवरोध हटाएर निर्माण कार्यलाई गति दिन अन्तरमन्त्रालय समन्वय थालेको छ ।

    ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय प्रसारण प्रणालीलाई बलियो बनाउने उद्देश्यले निर्माणाधीन प्रसारण लाइन समयमै सम्पन्न गर्न देखिएका समस्या समाधानका लागि पहल अघि बढाएका हुन् ।

    मन्त्रालयले बिहीबार निर्माणाधीन १२ वटा प्रसारण लाइन आयोजनाका प्रमुखलाई बोलाएर आयोजनाको अवस्था र निर्माण प्रगतिबारे जानकारी लिएको छ ।

    आयोजना प्रमुखहरूले प्रसारण लाइन निर्माणका क्रममा वन विभागबाट रुख कटानमा अवरोध तथा सडक विभागबाट पोल र टावर स्थानान्तरणका लागि आवश्यक समय नपाउँदा काम प्रभावित भएको जानकारी गराएका थिए ।

    नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार निर्माणाधीन प्रसारण लाइनको वर्तमान अवस्था बुझ्न आयोजना प्रमुखसँग छलफल गरिएको हो ।

    “निर्माणाधीन प्रसारण लाइनको अवस्था र तत्काल गर्नुपर्ने कामबारे १२ वटा परियोजना प्रमुखलाई मन्त्रालयमा बोलाएर वस्तुस्थितिबारे जानकारी लिइएको हो,” शाहीले भने ।

    उनका अनुसार आयोजना प्रमुखहरूले वन तथा सडक विभागसँग सम्बन्धित समस्या समाधानका लागि मन्त्रालयले अन्य निकायसँग समन्वय गरेपछि निर्माण कार्यले गति लिन थालेको जानकारी दिएका थिए ।

    १२ आयोजनाको काम यसै वर्ष सक्ने लक्ष्य

    विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार छलफलमा सहभागी १२ वटै प्रसारण लाइन आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने जानकारी प्राप्त भएको छ ।

    छलफलमा तुम्लिङटार–सितलपाटी २२० केभी, ढल्केबर–बाणगंगा १३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी, नेपालगन्ज–नानपारा १३२ केभी, लालबन्दी–सलेमपुर १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, हेटौंडा–ढल्केबर ४०० केभी तथा कालीगण्डकी–रिडी १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुखले निर्माण प्रगति प्रस्तुत गरेका थिए ।

    इनरुवा–विराटनगर प्रसारण लाइनमा म्याद थप गर्दा पनि ठेकेदारले काम अघि नबढाएपछि पेटी ठेकेदारलाई नै सम्पूर्ण भुक्तानी गरी तीन महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी समन्वय गरिएको जनाइएको छ ।

    त्यस्तै, हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको वनसम्बन्धी समस्या समाधान भएको र आगामी कात्तिकसम्म आयोजना सम्पन्न गर्ने जानकारी गराइएको छ ।

    ६ महिनादेखि एक वर्षभित्र मुख्य ग्रिडमा जोडिने

    ऊर्जामन्त्रीका प्रमुख सल्लाहकार अनिलकुमार अधिकारीका अनुसार निर्माणाधीन प्रसारण लाइनमध्ये केही आयोजना आगामी ६ महिनाभित्र र केही बढीमा एक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने अवस्थामा छन् ।

    “घटीमा ६ महिनामा र बढीमा एक वर्षमा प्रसारण लाइनहरू मुख्य ग्रिडमा जोडिने अवस्था छ। यसले सम्बन्धित क्षेत्रमा हुने पटक–पटक विद्युत् अवरोधको समस्या समाधान हुनेछ,” अधिकारीले भने ।

    प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत् प्रवाहको क्षमता बढ्नुका साथै सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता सुधार हुने अपेक्षा गरिएको छ ।

    समस्या आए तत्काल जानकारी दिन निर्देशन

    मन्त्री श्रेष्ठले अन्तरमन्त्रालयसँग सम्बन्धित समस्या तत्काल समन्वय गरी समाधान गर्ने प्रतिबद्धता जनाउँदै आयोजना प्रमुखलाई निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    प्रसारण लाइन राष्ट्रिय ऊर्जा प्रणालीको मुख्य आधार भएकाले यसको निर्माणमा ढिलाइ हुन नदिन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने मन्त्री श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images