काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको नेकपाको संघीय संसदीय दलको बैठकमा प्रचण्डले सरकारको ६ महिनाको कामकारबाही समीक्षा गर्दै सरकार संसद्प्रति पर्याप्त जवाफदेही र पारदर्शी नदेखिएको बताएका हुन् ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्डले ‘सरकार ठिक ढंगले अगाडि नबढेको’ भन्दै प्रधानमन्त्री शाहको कार्यशैलीबारे प्रश्न उठाएका थिए ।
बैठकमा सत्तापक्षका सांसदलाई समेत बाइपास गरेर सरकार अघि बढेको विषयमा छलफल भएको सांसद गोपाल शर्माले बताए ।
उनले सरकारको कार्यशैलीप्रति सत्तापक्ष र विपक्ष दुवैतर्फ असन्तुष्टि देखिएको दाबी गरे ।
प्रचण्डले भने सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको आलोचना गर्ने पार्टीको नीति रहेको बताउँदै समग्रमा सरकार सही दिशामा अघि बढ्न नसकेको बताएका छन् ।
बैठकले प्राकृतिक विपत्तिपछिको राहत, उद्धार र पुनर्निर्माणमा पहल गर्ने तथा संसद् अधिवेशन अन्त्यसँगै सांसदहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिने निर्णयसमेत गरेको छ ।


विश्व खबर 




















