images
images
  • काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा

    काठमाडौं – काभ्रेपलाञ्चोकको खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशत अझै आकाशेपानीको भरमा रहेको छ । जिल्लाको सिँचाइयोग्य जमिनमध्ये हालसम्म ४५.३ प्रतिशत क्षेत्रमा मात्रै नियमित सिँचाइ सुविधा पुगेको छ ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धुलिखेलका अनुसार जिल्लामा ५८ हजार १२३ हेक्टर खेतीयोग्य जमिन रहेकामा २८ हजार ७७१ हेक्टरलाई सिँचाइयोग्य जमिन मानिएको छ । त्यसमध्ये १२ हजार ९५६ हेक्टरमा नियमित सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ ।

    डिभिजन कार्यालयका प्रमुख इन्जिनियर राजकुमार तण्डुकारका अनुसार पछिल्लो एक वर्षमा मात्रै ९३२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार तथा सुदृढीकरण गरिएको छ । नयाँ आयोजना निर्माण, पुनर्निर्माण तथा मर्मतसम्भारमार्फत उक्त क्षेत्रफलमा सिँचाइ सुविधा थप गरिएको हो ।

    नयाँ सिँचाइ संरचनाअन्तर्गत खानीखोला गाउँपालिका–२ को भाङटारबेँसी बृहत् सिँचाइ योजनाबाट पाँच हेक्टर तथा चौँरीदेउराली–२ नाग्रेस्थित दुतीबेँसी पुरानो कुलो योजनाबाट १० हेक्टर गरी १५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

    त्यसैगरी पुनर्निर्माणमार्फत १० हेक्टर र सिँचाइ क्षेत्र सुदृढीकरण तथा मर्मतसम्भारबाट ९१७ हेक्टर खेतबारीमा पानी पुर्‍याइएको कार्यालयले जनाएको छ ।

    सुदृढीकरण कार्यक्रमअन्तर्गत पनौती–४ र ८ को लिलावती बृहत् सिँचाइ सुधार योजनाबाट ४० हेक्टर, पनौती–९ र १० को नौबिसे फाँटबाट २५ हेक्टर, पाँचखाल–१ र ३ को धनेको बाँध सहेले पोखरीबाट २० हेक्टर तथा बनेपा–२, ३ र ४ को माँझकुलो सिँचाइ योजनाबाट २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।

    अन्य विभिन्न सिँचाइ योजनाको मर्मतसम्भारबाट थप ८१२ हेक्टर जमिनमा सिँचाइ सुविधा सुदृढ गरिएको प्रमुख इन्जिनियर तण्डुकारले जानकारी दिए ।

    कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन किलोमिटर पक्की नहर निर्माण गरिएको छ । त्यस्तै १२ किलोमिटर ७१२ मिटर क्षेत्रमा एचडीपीई, जीआई तथा ह्युम पाइप जडान गरिएको छ । यस अवधिमा १७ वटा साइड इन्टेक, ३५ वटा सिँचाइ संरचना र १६ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ ।

    पहिरो तथा नदी नियन्त्रणतर्फ ६४३ मिटर ग्याबिन, ३३ मिटर आरसिसी रिटेनिङ, करिब सात किलोमिटर प्लम्प कङ्क्रिट तथा आधा किलोमिटर आरआरएम रिटेनिङ वाल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

    नवीकरणीय ऊर्जा प्रवर्द्धनअन्तर्गत ३५ वटा सौर्य सडकबत्ती र एक सेट सौर्य लिफ्ट पम्प प्रणालीसमेत जडान गरिएको छ ।

    गत आर्थिक वर्षमा सञ्चालन गरिएका १०७ वटा सतह सिँचाइ आयोजनामध्ये ४५ वटामा पानी सञ्चालन भइसकेको छ । त्यस्तै ४९ वटा नदी, पहिरो नियन्त्रण तथा बस्ती संरक्षण योजनामध्ये १३ वटा निर्माण सम्पन्न भएको प्रमुख इन्जिनियर तण्डुकारले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images