images
images
  • नागढुंगा सुरुङमार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २८४ चालक कारबाहीमा

    काठमाडौं – नागढुंगा सुरुङमार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २८४ जना सवारी चालक कारबाहीमा परेका छन् । सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म लेन अनुशासन उल्लंघन गर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता नियमविपरीत सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याइएको हो ।

    सुरुङमार्गमा सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर निर्धारण गरिएको छ। यसका लागि सुरुङमार्गमा आवश्यक सूचना बोर्डसमेत राखिएको प्रवक्ता सुवेदीले बताए ।

    “सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ। सोहीअनुसार सूचना बोर्ड राखिएको छ । उक्त नियम उल्लंघन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ,” उनले भने ।

    बिहीबार मात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १३ जना चालक कारबाहीमा परेका छन् ।

    ट्राफिक प्रहरीले सुरुङमार्गमा अन्य सडकको तुलनामा थप सावधानी अपनाएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गति पालना गर्ने, अनावश्यक रूपमा हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

    सुरुङमार्गभित्रको सीमित स्थान र संरचनाका कारण सामान्य सडकको तुलनामा ट्राफिक अनुशासन तथा सुरक्षित सवारी सञ्चालनलाई प्राथमिकता दिनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images