काठमाडौं– नेपाली कांग्रेसको मूलधारमा पदाधिकारीका आकांक्षी धेरै भएपछि नेता व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई १५औँ महाधिवेशनपछि समेट्नुपर्ने दबाबका कारण सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई शक्ति सन्तुलन मिलाउन सकस परेको नेताहरूले बताएका छन् ।
पुराना नेताहरू व्यवस्थापन गर्न महाधिवेशनबाट एक उपसभापति र एक महामन्त्री थप्ने तयारी भइरहेको छ ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले एक महिला उपसभापति र एक महिला महामन्त्री थप्ने प्रस्ताव तयार गरिरहेको बताइएको छ ।
विशेष महाधिवेशनमा सहभागी नभएका किशोरसिंह राठोर, धनराज गुरुङ, भीष्मराज आङदम्बे र अमरसिंह पुनलगायत नेताहरूलाई पदाधिकारीमा समेट्नुपर्ने दबाब छ ।
सभापतिमा राठोरले गगन थापालाई चुनौती दिने तयारी गरेको चर्चा छ ।
उपसभापति र महामन्त्री पदमा पनि थुप्रै नेताहरू आकांक्षी छन् ।
यसैबीच, शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का देउवा समूहले सुरु गरेको समानान्तर महाधिवेशनको वडा अधिवेशनमा सहभागी भएनन् ।
कोइराला संस्थापन पक्षको महाधिवेशन प्रक्रियाबाट पनि अलग छन् ।
कोइरालाले तत्काल कांग्रेस एक हुने सम्भावना नरहेको भन्दै दुवै पक्षलाई आ–आफ्नो महाधिवेशन सम्पन्न गर्न दिनुपर्ने बताएका छन् ।
संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्दैछ भने देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा समानान्तर केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।


विश्व खबर 



















