काठमाडौं । एमाले आन्तरिक एकताका सम्पूर्ण प्रयास केपी शर्मा ओलीको हठ र दम्भले असम्भव भएपछि अन्ततः नेकपा ९एमाले० औपचारिक विभाजनतर्फ अगाडि बढेको छ । माधवकुमार नेपाल पक्षले तत्कालका लागि विभिन्न बैठक, कमिटीका गठन–पुनर्गठन सहितका सम्पूर्ण गतिविधि रोक्न ओली पक्षलाई गरेको आग्रह अस्वीकार गरिएपछि एमाले विभाजनउन्मुख भएको हो ।
साउन २१ र २२ गते सम्पन्न माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीका कारण एकताको सम्भावना अन्त्य भएको ठहर गरेको थियो । उक्त बैठकले गरेको निर्णयअनुसार ‘पार्टी एकताको अनिवार्यतालाई हृदयंगम गर्दै तत्कालका लागि विभाजनको बाध्यात्मक नीति’ अबलम्बन गरिने भनिएको छ । बैठकका अधिकांश वक्ताले यथास्थितिमा हुने एकतालाई ‘एकता हैन, आत्मसमर्पण’ भन्ने धारणा प्रस्तुत गरेका थिए ।
केपीबिनाको एकता
बैठकमा केही वक्ताले एकताका निम्ति कार्यदलले तयार पारेको १० बुँदे सम्झौतालाई स्वयं माधव नेपालले स्वीकार गरे पनि आफूहरु विद्रोहका निम्ति तयार रहेको चेतावनी दिएका थिए । ओलीबिनाको एमाले भएमात्रै एकतामा जानेसम्मका कुराहरु उठेका थिए । बैठकमा पोलिट्व्युरो सदस्य राजेन्द्र पाण्डेले ओलीसहितको एमालेमा कुनै हालतमा जान नसकिने धारणा राखे । उनले भने, ‘बरु, म धादिङमा प्रगतिशील मञ्च बनाएर चुनावमा लड्छु, तर ओलीको नेतृत्वमा एमाले हुन्नँ ।’ पाण्डेले यसो भनेपछि बैठकमा एकछिनसम्म तालीको फोहोरा छुटेको थियो ।
राजेन्द्र पाण्डेपछि बैठकमा माहौल तताउने काम मेटमणि चौधरीले गरे । उनले भने, ‘मानाँै कि, माधव कमरेडलाई १० बुँदे उचित लाग्यो, उहाँलाई ओलीप्रति विश्वास पनि जाग्यो र एकतामा जानुभयो । त्यस्तो अवस्थामा हामी माधव कमरेड भनेर पछि लाग्दैनौँ, तपाईंसँगै पनि हामी विद्रोह गर्छौं ।’ उनले भने, ‘वार्ता गर्न गएका कमरेडहरु हाम्रो प्रतिनिधि हो कि ओलीको प्रतिनिधि हो ? स्पष्ट पार्नुपर्यो । माधव कमरेडको प्रतिनिधि हो भने, किन उहाँहरु घुमाई–फिराई हामीलाई ओलीको टाङमुनि छिराउन खोज्दै हुनुहुन्छ ? ’
मेटमणिको भनाइलाई समर्थन गर्दै केन्द्रीय सदस्यहरु हिराचन्द्र केसी, रामकुमारी झाँक्री, निरा जैरुसहितले यही लयमा आ–आफ्नो कुरा राखेका थिए । बैठकमा कार्यदलको प्रगतिबारे ब्रिफिङ गर्न रोष्ट्रममा पुगेका उपाध्यक्ष भीम रावलको भूमिका र अभिव्यक्तिलाई लिएर आपत्ति जनाइएको थियो ।


विश्व खबर 



















