काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभा तथा त्यस अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकमा सहभागी भएर मन्त्री खनाल बुधबार बिहान स्वदेश फर्किएका हुन् ।
मन्त्री खनाल महासभा र त्यसअन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी हुन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा उनले नेपालको तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गरेका थिए ।
त्यस क्रममा मन्त्री खनालले विभिन्न देशका समकक्षीसँग भेटवार्ता तथा द्विपक्षीय बैठकसमेत गरेका थिए । भेटवार्तामा आपसी हित र द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विविध विषयमा छलफल भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिता, जलवायु परिवर्तनका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने तथा विभिन्न मुलुकका प्रतिनिधिसँग भएको भेटवार्ताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी बनाउन सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालको सक्रिय सहभागिता, उच्चस्तरीय भेटवार्ता तथा छलफललाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मुलुकको छवि अभिवृद्धिका दृष्टिले फलदायी रहेको मन्त्रालयले जनाएको छ।


विश्व खबर 



















