images
images
  • भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् बाहिर, हिउँदको माग व्यवस्थापनमा सरकार जुट्यो

    काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकारले वैकल्पिक विद्युत् व्यवस्थापनको तयारी थालेको छ ।

    बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा प्रसारण प्रणालीमा चाप परेको छ। त्यसलाई व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक आपूर्ति प्रणाली विकासको गृहकार्य अघि बढाएको हो ।

    मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विद्युत् व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठन गरेर काम गरिरहेको छ ।

    बाढीबाट त्रिशूली करिडोरको विद्युत् आपूर्ति प्रभावित भएपछि विशेषगरी आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनले बताए ।

    थप भूमिगत ग्रिड निर्माणको तयारी

    मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग काठमाडौं उपत्यकामा थप भूमिगत विद्युत् ग्रिड निर्माण तथा व्यवस्थापनका विषयमा छलफल गरेको छ ।

    हिउँदमा विद्युत्को माग बढ्ने भएकाले वैकल्पिक आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन भूमिगत ग्रिड विस्तार गर्ने विषयमा छलफल भएको प्रवक्ता शाक्यले बताए ।

    उनका अनुसार कतिपय क्षेत्रमा निर्माण भइसकेका भूमिगत विद्युत् ग्रिडलाई थप विश्वसनीय बनाउने तथा नयाँ भूमिगत ग्रिड निर्माणका लागि सडक विभाग र काठमाडौं महानगरपालिकासँग निश्चित कार्यतालिकासहित सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

    सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुवोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनका लागि आवश्यक सहकार्य गर्ने बताएका छन् ।

    हिउँदे माग व्यवस्थापनका लागि ‘टास्क फोर्स’

    नेपाल विद्युत् प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौं उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताअनुसार सहकार्य गरिने बताए ।

    छलफलमा प्राधिकरणको बागमती वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौंको लोड व्यवस्थापन र आवश्यक कार्यबारे प्रस्तुति दिएका थिए । उनले प्राधिकरणले ‘टास्क फोर्स’ बनाएर हिउँदे विद्युत् माग व्यवस्थापनको काम अघि बढाइरहेको जानकारी दिए ।

    प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौंको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि सबै सम्बन्धित निकायबीच उच्चस्तरीय सहकार्य आवश्यक रहेको बताए ।

    उनका अनुसार हिउँदमा विद्युत् प्रणालीमा पर्ने चापलाई सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ ।

    भोटेकोशी बाढीका कारण उत्पादन र प्रसारण प्रणालीमा परेको असरलाई तत्कालीन रूपमा व्यवस्थापन गर्नुका साथै आगामी हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति भरपर्दो बनाउन वैकल्पिक प्रसारण संरचना विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images