images
images
  • म्याग्दीमा बाढीपहिरो : ६ जनाको मृत्यु, तीन जना बेपत्ता

    म्याग्दी– म्याग्दीमा असोज ८ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका ६ जनाको शव फेला पारिएको हो ।

    अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन, सोही स्थानका २८ वर्षीय देवबहादुर पुन, अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी शिल कुमारी गर्बुजाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएपछि प्रहरी परिचालन गरी थप खोज तथा उद्धार र राहत वितरणको काम भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

    यसैबीच पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सम्पूर्ण यातायात आवागमन ठप्प भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images