काठमाडौं – जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) रकम कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
नेपाल लाइफ र एलआईसी नेपालबाहेक अधिकांश जीवन बीमा कम्पनीले इन्सेन्टिभ सुविधा कटौती गरेको दाबी गर्दै संघले अभिकर्तालाई नियमानुसार सुविधा उपलब्ध गराउने वातावरण बनाउन प्राधिकरणसँग माग गरेको हो ।
संघले प्राधिकरणमा बुझाएको ध्यानाकर्षण पत्रमा बीमा नियमावली, २०८१ को परिच्छेद १०, दफा ४४ तथा नियम ५७ को अनुसूचीमा रहेको व्यवस्थालाई आधार बनाएको छ ।
उक्त व्यवस्थाअनुसार कमिसनबाहेक प्रथम बीमा शुल्कका आधारमा प्राधिकरणले तोकेको सीमाभित्र रही अभिकर्तालाई प्रोत्साहन सुविधा उपलब्ध गराउन सकिने संघको भनाइ छ ।
व्यवसाय विस्तारमा असर पर्ने अभिकर्ताको दाबी
जीवन बीमा व्यवसायको विस्तार र प्रवर्द्धनमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको भन्दै संघले इन्सेन्टिभ कटौती हुँदा उनीहरूको व्यावसायिक मनोबलमा असर पर्ने जनाएको छ ।
नियमावली लागू भएकै मितिदेखि सम्बन्धित व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने संघको माग छ ।
व्यवसाय वृद्धि तथा जारी बीमालेखका आधारमा अभिकर्तालाई इन्सेन्टिभ उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न सबै बीमा कम्पनीलाई आवश्यक निर्देशन दिन पनि संघले प्राधिकरणलाई आग्रह गरेको छ ।
संघका अनुसार बीमा कम्पनीहरूले आफ्नो व्यवसाय विस्तारको रणनीतिअनुसार प्राधिकरणले तोकेको सीमाभित्र रहेर अभिकर्तालाई इन्सेन्टिभ दिन सक्ने कानुनी व्यवस्था छ ।
त्यसैले कम्पनीहरूले सुविधा कटौती गर्न थालेपछि देखिएको विवाद समाधान गर्न नियामकले स्पष्ट निर्देशन दिनुपर्ने संघको भनाइ छ ।
विवाद समाधानका लागि तत्काल निर्देशन माग
अभिकर्ता संघले प्राधिकरणले यस विषयमा तत्काल आवश्यक कदम चालेर बीमा कम्पनी र अभिकर्ताबीच देखिएको इन्सेन्टिभसम्बन्धी विवाद समाधान गर्नुपर्ने माग गरेको छ ।
नियमनकारी निकायबाट स्पष्ट निर्देशन आएमा नियमावलीमा रहेको व्यवस्थाअनुसार अभिकर्ताले पाउने प्रोत्साहन सुविधा सुनिश्चित हुने र बीमा व्यवसायको विस्तारमा समेत सहयोग पुग्ने संघको विश्वास छ ।


विश्व खबर 



















