काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा रहेको बताएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले संकट समाधानका लागि राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको र त्यसको नेतृत्व एमालेले गर्नुपर्ने धारणा राखे ।
रास्वपा ‘पपुलिज्म’ र अराजकतामा उभिएको शक्ति भएकाले दीर्घकालमा असफल हुने दाबी गर्दै उनले रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल नहुने बताए ।
एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवैबाट बाहिर राख्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले पार्टीभित्र बलियो एकता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताए ।
निर्वाचनपछिको बहसले पार्टीभित्र ध्रुवीकरण बढाएर भावनात्मक विभाजन सिर्जना गरेको उनको भनाइ थियो ।
पुनर्गठनको बहस व्यक्ति केन्द्रित बनेको, अध्यक्ष केपी शर्मा ओलीलाई सम्पूर्ण समस्याको कारकका रूपमा चित्रित गर्न खोजिएको तथा पार्टीका नियमित काम प्रभावित भएको उनले बताए ।
कार्यदलको प्रतिवेदनलाई पार्टी एकताको आधार बनाउनुपर्ने सुझाव दिँदै उनले त्यसको नेतृत्व अध्यक्ष ओलीले गर्नुपर्ने बताए ।
एमालेलाई लागेको धक्काको मुख्य कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको उनले उल्लेख गरे ।
आफ्नो छुट्टै प्रतिवेदन नरहेको स्पष्ट पार्दै ज्ञवालीले पार्टीभित्रको विषय मिडिया ट्रायल गर्ने र असहमति सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्तिले दिगो नेतृत्व निर्माण गर्न नसक्ने बताए ।


विश्व खबर 



















