images
images
  • नैनसिंह महर गगनको पक्षमा खुलेपछि डडेलधुरामा देउवाको विरासत कसले थाम्ला ?

    काठमाडौं– नेपाली कांग्रेसमा सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच शक्ति संघर्ष बढिरहेका बेला देउवा गृहजिल्ला डडेल्धुरामै कमजोर देखिएका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर गगन थापाको पक्षमा खुलेपछि डडेल्धुराका जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्य पनि थापातिर उभिएका छन् ।

    डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउद, उपसभापति भरत नेपाली, सचिव हेमराज चटौत, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव गोविन्दराज बोहरा र प्रेमबहादुर महरसहितका नेता थापा पक्षमा छन् ।

    पूर्वसभापति रघुवर भट्ट र पूर्वमन्त्री गोविन्द बोहरा पनि थापा पक्षमा खुलेका छन् ।

    जिल्लाका सात पालिकामध्ये अमरगढी, पर्शुराम, भागेश्वर र अजयमेरुका सभापति थापा पक्षमा तथा गन्यापधुरा, आलिताल र नवदुर्गाका सभापति देउवा पक्षमा रहेको बताइएको छ ।

    डडेल्धुरामा शनिबार र आइतबार गरी ५२ मध्ये ३० वडामा अधिवेशन सम्पन्न भएको छ। बाँकी २२ वडामा सोमबार अधिवेशन हुने जनाइएको छ ।

    युवा नेता जनक चटौतले जिल्ला कांग्रेसको करिब ७० प्रतिशत शक्ति थापा पक्षमा रहेको दाबी गरेका छन् ।

    उनका अनुसार जिल्ला पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र पालिका सभापतिमध्ये बहुमत थापा पक्षमा छन् ।

    महरले भने असोज १ गतेदेखि औपचारिक रूपमा देउवाको साथ छाडेर थापाको पक्षमा खुलेका हुन् ।

    देउवा नेतृत्वमा रहँदा महर नेविसंघको सभापतिसमेत बनेका थिए ।

    महरको पक्ष परिवर्तनसँगै देउवालाई सुदूरपश्चिममा पनि चुनौती थपिएको छ ।

    प्रदेशका नौ जिल्ला सभापतिमध्ये कैलाली, कञ्चनपुर र डोटीका सभापति मात्र अहिले देउवा पक्षमा रहेको बताइएको छ ।

    डडेल्धुरा, अछाम, बाजुरा, दार्चुला, बैतडी र बझाङका सभापति थापा पक्षमा खुलेका छन् ।

    यद्यपि सुदूरपश्चिम प्रदेश कार्यसमितिमा भने देउवा पक्षको प्रभाव कायमै रहेको बताइएको छ ।

    प्रदेश सभापति वीरबहादुर बलायर, एनपी साउद र रमेश लेखकसहितका प्रभावशाली नेता देउवा पक्षमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images