काठमाडौं – भारी वर्षा र हिमपातका कारण मनास्लु हिमाल आरोहण प्रभावित भएपछि आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन् ।
मनास्लु क्षेत्रको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाका अनुसार करिब दुई सातादेखि लगातार वर्षा र हिमपात भएपछि आरोहीहरू जोखिम मोलेर अघि बढ्न नसकी फर्किन थालेका हुन् ।
उनका अनुसार मनास्लु आसपासमा करिब पाँच फिटसम्म हिउँ जमेको छ । “यस्तो त कहिल्यै भएको थिएन। पानी र हिउँ लगातार परिरहेको छ,” उनले भने, “असोज ८ देखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेपछि आरोहीहरू धमाधम फर्किएका छन् ।”
स्थानीय व्यवसायी प्रबल लामाका अनुसार पछिल्लो १२ वर्षमा मनास्लु क्षेत्रमा यसरी निरन्तर वर्षा र हिमपात भएको थिएन । आधार शिविरमै करिब तीन फिटसम्म हिउँ जमिसकेको र माथिल्ला शिविरमा सातदेखि आठ फिटसम्म हिउँ परिसकेको उनले बताए ।
मौसमका कारण जोखिम बढेपछि आरोहीहरू फर्किन थालेको उनको भनाइ छ ।
सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाका अनुसार हालसम्म करिब १० प्रतिशत आरोही फर्किसकेका छन् । अघिल्ला वर्षमा पनि मौसम प्रतिकूल हुँदा केही आरोही फर्किने गरे पनि यसपटक फर्किनेको संख्या बढी रहेको उनले बताए ।
आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस याममा करिब पाँच सय आरोहीले अनुमति लिएका छन् ।
गत वर्ष ६७ देशका ४१ समूहका ३६६ पुरुष र १२७ महिला गरी ४९३ जनाले आरोहण अनुमति लिएका थिए। उनीहरूबाट नेपाल सरकारलाई २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो ।


विश्व खबर 



















