images
images
  • कृष्णभिरको पहिरो रोक्न सुरुङ वा भायाडक्ट बनाउने तयारी

    काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा वर्षेनि दोहोरिने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधान खोज्न सरकारले सुरुङ वा भायाडक्ट निर्माणको विकल्पमा प्राविधिक अध्ययन अघि बढाएको छ ।

    सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभिरको समस्या समाधानका लागि दुई विकल्पमा अध्ययन भइरहेको जानकारी दिएका हुन् ।

    दुई महिनाभित्र अध्ययन प्रतिवेदन

    विभागका अनुसार कृष्णभिर क्षेत्रमा पहाडभित्रबाट सुरुङ निर्माण गर्ने वा पहिरोको जोखिम रहेको भागलाई पिल्लरमाथि पुलजस्तो संरचना बनाएर सडक जोड्ने भायाडक्ट निर्माण गर्ने विकल्पमाथि अध्ययन भइरहेको छ ।

    प्राविधिक अध्ययन करिब दुई महिनाभित्र पूरा गरी प्रतिवेदन तयार गर्ने र त्यसपछि निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने विभागको योजना छ ।

    पहिरोका कारण पटक–पटक सडक अवरुद्ध

    कृष्णभिरमा वर्षायाममा पटक–पटक पहिरो जाने गरेका कारण पृथ्वी राजमार्गको यातायात प्रभावित हुँदै आएको छ ।

    गत भदौ १० गते भोटेकोशी–रसुवा बाढीका कारण सडकको साविक भाग क्षतिग्रस्त भएको थियो। त्यसपछि भदौ १४ गते कृष्णभिर खण्डको सडकसमेत भत्किएको थियो ।

    हाल क्षतिग्रस्त सडकको माथिल्लो भागबाट अस्थायी मार्ग निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ ।

    वैकल्पिक सडक पनि निर्माण हुँदै

    दीर्घकालीन जोखिम घटाउन सडक विभागले वैकल्पिक सडक निर्माणको कामसमेत अघि बढाएको छ ।

    फिस्लिङ हुँदै बेनिघाटतर्फ पुल जोड्ने वैकल्पिक मार्ग निर्माण सुरु भइसकेको छ । हाल फिस्लिङतर्फ करिब डेढ किलोमिटर भिर काट्ने काम भइरहेको विभागले जनाएको छ ।

    वैकल्पिक सडक निर्माण सम्पन्न भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा पहिरो वा अन्य समस्या आए पनि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images