images
images
  • राहतमा ‘मानवीय सहयोग’को नाममा लापरबाही, ५६ क्विन्टल चामल अखाद्य

    काठमाडौं – भोटेकोशी बाढीपीडितका लागि राहतस्वरूप वितरण गर्न राखिएको खाद्य सामग्रीमध्ये ठूलो परिमाणमा उपभोग गर्न नमिल्ने खाद्य सामग्री भेटिएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको समाखुसीस्थित राधा स्वामी सत्सङ्गमा गरेको अनुगमनका क्रममा करिब ५६ क्विन्टल घुन लागेको चामल र म्याद गुज्रिएको मिश्रित खाद्य पदार्थ फेला पारेको हो ।

    चामलको बोरामै थिएन कुनै विवरण

    अनुगमनका क्रममा राहतका लागि राखिएका चक्की, आँटा, नमकिन, सोयाबरी, आयोडिनयुक्त नुन र चामललगायत खाद्य सामग्रीको निरीक्षण गरिएको थियो ।

    अधिकांश सामग्रीको लेबलमा उत्पादन गर्ने वा प्याकेजिङ गर्ने उद्योगको नाम, ठेगाना र अन्य आवश्यक विवरण उल्लेख भए पनि चामलका बोरामा कुनै पनि लेबल विवरण नरहेको विभागले जनाएको छ ।

    यसका कारण चामल कहिले उत्पादन भएको हो र कुन स्रोतबाट आएको हो भन्ने पहिचान गर्न कठिन अवस्था देखिएको थियो ।

    ५६ क्विन्टल चामल नष्ट

    अनुगमनका क्रममा चामलका अधिकांश बोरामा घुन लागेको भेटिएको थियो । उपभोगका लागि अनुपयुक्त देखिएपछि विभागको टोलीले करिब ५६ क्विन्टल चामल नष्ट गरेको हो ।

    त्यस्तै, मिश्रित खाद्य पदार्थको लेबलमा उल्लेख गरिएको उपभोग्य म्यादसमेत समाप्त भइसकेको भेटिएको थियो । करिब पाँच किलो त्यस्तो सामग्री पनि तत्काल नष्ट गरिएको विभागले जनाएको छ ।

    राहतमा गुणस्तर जाँचको प्रश्न

    विपद्का बेला पीडितलाई सहयोग गर्ने उद्देश्यले विभिन्न संस्था, व्यवसायी तथा स्वयंसेवी समूहले खाद्यान्नलगायत सामग्री संकलन गरी वितरण गर्दै आएका छन् ।

    तर राहतका लागि संकलन गरिएका खाद्य सामग्रीको उत्पादन मिति, उपभोग्य म्याद, भण्डारण अवस्था र गुणस्तर जाँच नगरी वितरण गर्ने प्रवृत्ति देखिएमा त्यसले पीडितको स्वास्थ्यमा थप जोखिम निम्त्याउन सक्ने सरोकारवालाको भनाइ छ ।

    विभागको अनुगमनले राहत वितरणमा मानवीय सहयोगसँगै खाद्य सुरक्षा र जवाफदेहितालाई समेत प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images