दुबई/वासिङ्टन– इरान र अमेरिकाबीच आइतबार फेरि धम्कीपूर्ण अभिव्यक्ति आदानप्रदान भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे आर्थिक रूपमा कमजोर बन्नुपर्ने वा नेतृत्व नै समाप्त हुने चेतावनी दिएका छन् भने इरानी सेनाले नयाँ आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको द्वन्द्व महिनौँदेखि गतिरोधमा रहे पनि दुवै पक्षले कुनै सम्झौता वा सहमतिका लागि पर्याप्त लचकता देखाएका छैनन् ।
यसबीच द्वन्द्वले विश्वव्यापी ऊर्जा संकटलाई थप गहिरो बनाएको, इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको र क्षेत्रीय तनावलाई नयाँ चरणमा पुर्याएको छ ।
फक्स न्युजका एक पत्रकारसँगको टेलिफोन कुराकानीमा ट्रम्पले इरानका नेताहरूले सम्झौता गर्नुपर्ने बताएका थिए ।
उनका अनुसार इरानले सम्झौता नगरे आर्थिक रूपमा कमजोर हुनुपर्ने वा नेतृत्व समाप्त हुने अवस्थाको सामना गर्नुपर्नेछ ।
तर, इरानी राष्ट्रपति मसुद पेजेस्कियन यसै साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आउने अपेक्षा गरिएको बेला ट्रम्पले उनीसँग भेट गर्न आफू तयार रहेको पनि बताएका छन् ।
द्वन्द्व सुरु भएयता ट्रम्पले पटक–पटक ठूलो सैन्य कारबाही हुन सक्ने संकेत दिँदै आएका छन् ।
यद्यपि अहिलेसम्म उनले त्यस्तो ठूलो सैन्य कदम अघि बढाएका छैनन् ।
यसैबीच इरानी सेनाको केन्द्रीय कमान्डले नयाँ आक्रमण भए अमेरिकी सैन्य आधार र अमेरिकी हितविरुद्ध निरन्तर प्रतिकार गरिने चेतावनी दिएको छ ।
अमेरिकाका क्षेत्रीय सहयोगी राष्ट्रहरूलाई समेत द्वन्द्वको पक्ष मानिने इरानी सेनाले जनाएको छ ।
इरानी सेनाले आफूलाई नयाँ आक्रमणको तयारी भइरहेको सूचना प्राप्त भएको दाबी गरे पनि त्यसको प्रकृति वा स्रोतबारे थप विवरण दिएको छैन ।
हुथीद्वारा रियादलाई निशाना
अमेरिकाका खाडी क्षेत्रका सहयोगी राष्ट्रहरू यसअघि नै युद्धको गम्भीर प्रभावमा परेका छन् ।
अमेरिका र इजरायलले अचानक सुरु गरेको युद्धपछि इरानी आक्रमणका कारण ती राष्ट्रका सहरहरू प्रभावित भएका छन् भने अर्थतन्त्रमा पनि ठूलो असर परेको छ ।
यसैबीच, महत्वपूर्ण होर्मुज जलडमरूमध्य अवरुद्ध हुँदा खाडी क्षेत्रको ऊर्जा व्यापारसमेत प्रभावित भएको छ ।
शनिबार अवस्था थप जटिल बन्यो ।
इरानसमर्थित यमनको हुथी समूहले साउदी अरबको राजधानी रियादतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो ।
यो आक्रमण यमनमा पुनः चर्किएको गृहयुद्धका क्रममा हुथी समूहले यसै महिनाको सुरुवातमा सैन्य रूपमा महत्वपूर्ण सफलता हासिल गरेपछि भएको हो ।
रातको समयमा रियादको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल आसपासबाट ठूलो मात्रामा कालो धुवाँ निस्किएको दृश्य रोयटर्सले प्राप्त गरेको भिडियोमा देखिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले हुथी समूहको गतिविधिलाई लिएर सुरक्षा चेतावनी जारी गर्दै मध्यपूर्वमा अप्रत्याशित रूपमा तनाव बढ्न सक्ने जनाएको छ ।
उसले अमेरिकी नागरिकलाई थप सतर्क रहन तथा सम्भावित उडान रद्द र हवाई क्षेत्र बन्द हुन सक्ने अवस्थाबारे सचेत रहन आग्रह गरेको छ ।
साउदी अरबले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
तर हुथी समूहविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी भूमितर्फ भएका अन्य आक्रमणहरू विफल पारिएको जनाएको छ ।
हुथी समूहको पछिल्लो गतिविधिले साउदी अरबलाई कठिन निर्णयको अवस्थामा पुर्याएको छ ।
यमनमा हुथी समूहलाई थप भू–भाग कब्जा गर्नबाट रोक्न हवाई आक्रमण जारी राख्ने वा ड्रोन आक्रमणबाट महत्वपूर्ण पूर्वाधार जोगाउन सैन्य कारबाही घटाउने भन्ने चुनौती साउदी अरबसामु देखिएको छ ।
ऊर्जा निर्यातमा थप अवरोध
यमनको तटीय क्षेत्रमा हुथी समूहले हासिल गरेको सैन्य सफलताका कारण उनीहरूको नियन्त्रण बाब अल–मन्देब जलडमरूमध्यसम्म विस्तार भएको छ ।
यसले लाल सागर हुँदै एसिया जाने समुद्री यातायातमाथि उनीहरूको प्रभाव बढाएको छ ।
यसअघि नै इरानले होर्मुज जलडमरूमध्य हुँदै हुने अधिकांश समुद्री आवागमनमा अवरोध सिर्जना गरेको छ ।
बाब अल–मन्देब र होर्मुज दुवै महत्वपूर्ण जलमार्गमा अवरोध सिर्जना हुँदा खाडी क्षेत्रबाट विश्व बजारतर्फ हुने ऊर्जा निर्यात लगभग ठप्प भएको छ ।
यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा थप दबाब सिर्जना गरेको छ ।
अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नाकाबन्दीका कारण इरानले आफ्नै तेल बिक्री गर्न समेत कठिनाइ भोगिरहेको छ ।
यसले इरानी अर्थतन्त्रमा गम्भीर समस्या थपेको छ ।
आर्थिक क्षति बढ्दै गए पनि जुन महिनामा भएको अस्थायी युद्धविराम सम्झौता पुनः कार्यान्वयन हुने स्पष्ट संकेत देखिएको छैन ।
सम्झौताका सर्तबारे उत्पन्न विवादका कारण जुलाईमा उक्त समझदारी कमजोर हुँदै गएको थियो ।
इरानले आइतबार पनि आफ्नो अडान दोहोर्याउँदै जुन महिनाको सम्झौताका आफूले बुझेका सर्तहरू पूरा नभएसम्म होर्मुज जलडमरूमध्य पुनः नखोल्ने जनाएको छ ।
इरानी संसद्का सभामुख मोहम्मद बाकेर कालीबाफले शत्रुको प्रतिरोध गर्न र कूटनीतिक माध्यमबाट हासिल उपलब्धिलाई सुरक्षित गर्न इरानले युद्धसँगै वार्तालाई पनि अघि बढाउनुपर्ने बताएका छन् । –रोयटर्स


विश्व खबर 



















