images
images
  • स्याउ बोकेको टेलर खोलाको बगरमा पल्टियो, चालक र सहचालक घाइते

    हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ नयाँबस्तीस्थित सयफुटमा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

    वीरगञ्जबाट स्याउ बोकेर काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९०६८ नम्बरको टेलर सोमबार बिहान करिब ४ः३० बजे अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलाको बगरमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरीका अनुसार चालक निदाएका कारण टेलर अनियन्त्रित भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

    दुर्घटनामा वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरका २५ वर्षीय चालक नरेश महतो र सोही स्थानका २८ वर्षीय सहचालक रमेश कुशवाह घाइते भएका छन् । दुवै जनाको खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रातोमाटेबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घाइते दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनाग्रस्त टेलर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण राजमार्गमा कुनै अवरोध नभएको पनि प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images