images
images
  • इरान समर्थित हुथी विद्राहीद्वारा साउदीको राजधानी रियादमा ब्यालेस्टिक, क्रुजक्षेप्यास्त्र र ड्रोन आक्रमण

    रियाद– यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबको राजधानी रियादसहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा पूर्वाधारलाई लक्षित गरी ड्रोन तथा ब्यालेस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दाबी गरेको छ ।

    इरान समर्थित हुथी समूहले शनिबार रियाद तथा साउदी अरबको लाल सागर तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूलाई लक्षित गरी ठूलो संख्यामा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको जनाएको हो ।

    तर, साउदी अधिकारीहरूले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकेर नष्ट गरिएको बताएका छन् ।

    उनीहरूले अन्य कुनै क्षेप्यास्त्रले क्षति पुर्‍याएको वा मानवीय क्षति भएको पुष्टि गरेका छैनन् ।

    शनिबार साउदी राजधानीस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण ट्यांकीबाट बाक्लो कालो धुवाँको मुस्लो उठेको देखिएको थियो ।

    घटनापछि केही समय विमानस्थलको उडानसमेत प्रभावित भएको थियो ।

    हुथी समूहले साउदी अरबमाथि पछिल्लो समय आक्रमण तीव्र बनाएपछि पहिलोपटक रियादमा हवाई आक्रमणको चेतावनी जारी गरिएको हो ।

    अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गर्दै सम्भावित उडान रद्द तथा अन्य यात्रासम्बन्धी अवरोधका लागि तयार रहन चेतावनी दिएको छ ।

    अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरान समर्थित हुथीहरूले साउदी अरबमाथि, विशेषगरी नागरिक विमानस्थलहरूलाई समेत लक्षित गरी, शत्रुतापूर्ण गतिविधि गर्दै आएका छन् । यो सैन्य द्वन्द्व तीव्र रूपमा बढ्न सक्ने सम्भावना छ ।’

    उसले अमेरिकी नागरिकलाई उक्त क्षेत्र हुँदै यात्रा गर्ने वा त्यहाँ यात्रा गर्ने योजनाबारे गम्भीर रूपमा पुनर्विचार गर्नसमेत आग्रह गरेको छ ।

    साउदी नेतृत्वको गठबन्धनका एक अधिकारीका अनुसार बिश, ताइफ, फरासान र यान्बु क्षेत्रमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयाससमेत हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको छ ।

    हुथी सैन्य प्रवक्ता याह्या अल–सरियाले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा रियादका ‘महत्त्वपूर्ण संवेदनशील स्थल’ तथा तटीय क्षेत्रमा रहेको साउदी सरकारी तेल तथा ग्यास कम्पनी अराम्कोका प्रतिष्ठानलाई लक्षित गरी ‘ठूलो संख्यामा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन’ प्रयोग गरिएको दाबी गरेका छन् ।

    उनले यो आक्रमण साउदी पक्षले यमनको हुथी नियन्त्रणमा रहेको राजधानी सानामाथि गरेको ‘आक्रमणको जवाफ’ भएको बताएका छन् ।

    यसअघि अल–सरियाले पछिल्लो एक सातामा साउदी अरबले यमनका विभिन्न क्षेत्रमा ३०० पटक आक्रमण गरेको आरोप लगाएका थिए ।

    हुथी समूह यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग गृहयुद्धमा छ ।

    उक्त सरकारलाई साउदी अरबको समर्थन प्राप्त छ ।

    पछिल्ला केही महिनामा हुथीहरूले साउदी अरबभित्र विभिन्न स्थानलाई लक्षित गरी पटक–पटक आक्रमण गरेको दाबी गर्दै आएका छन् ।

    यसै साता उनीहरूले यमनमाथि उडिरहेको साउदी लडाकु विमान खसालेको दाबीसमेत गरेका थिए ।

    समाचार संस्था एएफपीका अनुसार यमनको गृहयुद्धमा संलग्न दुवै पक्षका सैन्य स्रोतलाई उद्धृत गर्दै शनिबार भएको भिडन्तमा ४८ जनाको मृत्यु भएको अपुष्ट विवरण आएको छ ।

    हुथी पक्षले आफ्ना ३१ लडाकु मारिएको जनाएको छ भने सरकारी पक्षका स्रोतले आफ्नातर्फ १७ सैनिक मारिएको बताएका छन् ।

    यसैबीच, संयुक्त राष्ट्रसंघको निकाय अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयको द्वन्द्वका कारण विस्थापित हुनेको संख्या १ लाख ४ हजार ७९६ नाघेको छ ।

    रियादमा विस्फोटको आवाज, विमानस्थलमा उडान प्रभावित

    शनिबार रियादमा धेरैवटा विस्फोटको आवाज सुनिएको थियो ।

    त्यसपछि किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा उडानमा ठूलो अवरोध देखिएको थियो ।

    उडानसम्बन्धी विवरण राख्ने वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानस्थलमा उडान ढिला हुनुका साथै केही उडान रद्द भएका थिए ।

    एएफपीका एक पत्रकारका अनुसार अराम्कोको स्वामित्वमा रहेको जलेको इन्धन भण्डारण ट्यांकीबाट लागेको आगो निभाउन अग्निनियन्त्रकहरू परिचालित भएका थिए ।

    साउदी नागरिक सुरक्षा निकायले राति रियादसहित विभिन्न क्षेत्रमा सम्भावित जोखिमबारे मोबाइल फोनमार्फत चेतावनी सन्देश पठाएको थियो ।

    शनिबार बिहान भने जोखिम टरेको जानकारी दिइएको थियो ।

    रियादका बासिन्दाहरूले हवाई चेतावनीपछि लगातार विस्फोटजस्तो आवाज सुनेको बताएका छन् ।

    उत्तरी रियादका २७ वर्षीय एक स्थानीय बासिन्दाले एएफपीसँग भने, ‘मैले चेतावनीको साइरन सुनेँ, त्यसपछि झ्यालहरू हल्लिए । यो निकै डर लाग्दो थियो । मैले यस्तो हुने अपेक्षा गरेको थिइनँ ।’

    हुथीको नियन्त्रणमा रणनीतिक बन्दरगाह

    हुथी समूहले हालै रणनीतिक रूपमा महत्वपूर्ण बन्दरगाह सहर मोखा र पेरिम द्वीपमाथि नियन्त्रण कायम गरेको जनाएको छ ।

    यी क्षेत्र खाडी मुलुकबाट एसिया र युरोपतर्फ हुने महत्वपूर्ण समुद्री व्यापारिक मार्गनजिक पर्छन् ।

    हुथी समूहले आफ्नो नियन्त्रणमा रहेका उत्तर–पश्चिमी यमनका बन्दरगाह तथा विमानस्थलमाथि साउदी अरबले लगाएको नाकाबन्दीको जवाफस्वरूप समुद्री नाकाबन्दी गरेको बताउँदै आएको छ ।

    अमेरिका र इजरायल तथा इरानबीचको युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएपछि साउदी जहाजहरूले तेल निर्यातका लागि लाल सागरको उक्त समुद्री मार्गमा बढी निर्भर हुनुपरेको समाचारमा उल्लेख छ ।

    यसैबीच, शुक्रबार लगानी बैंक जेपी मोर्गनले युद्धको अन्त्य कसरी हुन्छ भन्ने स्पष्ट नभएकाले तेलको मूल्यमा पर्ने प्रभावको अनुमान गर्न कठिन भइरहेको जनाएको छ ।

    जेपी मोर्गनले लगानीकर्तालाई पठाएको दुर्लभ टिप्पणीमा युद्धको सम्भावित अन्त्यबारे ‘हामीलाई यसको अन्तिम अवस्था कसरी अनुमान गर्ने भन्ने नै थाहा छैन’ भन्ने आशय व्यक्त गरेको थियो । –बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images