काठमाडौं– नेपाल धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन् ।
हालसम्म सार्वजनिक भएका विवरणअनुसार बैंक तथा वित्तीय संस्था, जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, लघुवित्तलगायत विभिन्न क्षेत्रका कम्पनीले लाभांश घोषणा गरेका छन् । म्युचुअल फन्डहरूले समेत इकाइधनीका लागि प्रतिफल प्रस्ताव गरेका छन् ।
यस वर्ष लाभांश घोषणा गर्ने कम्पनीमध्ये रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष कम्पनीले कुनै लाभांश दिएको थिएन । यसपटक प्रस्ताव गरिएको ३० प्रतिशत नगद लाभांश हालसम्म सार्वजनिक भएका कम्पनीमध्ये उच्च हो ।
बैंकिङ क्षेत्रमा मिश्रित अवस्था
वाणिज्य बैंकतर्फ एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ । गत वर्ष बैंकले २० प्रतिशत लाभांश दिएको थियो ।
ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा ६ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश रहेको छ । गत वर्षको ८ प्रतिशतको तुलनामा यसपटक बैंकको लाभांश बढेको छ ।
सानिमा बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । गत वर्ष बैंकले ७ दशमलव ३७ प्रतिशत लाभांश दिएको थियो ।
नबिल बैंकले १५ दशमलव ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा ५ प्रतिशत बोनस शेयर र १० दशमलव ८ प्रतिशत नगद लाभांश रहेको छ । गत वर्ष बैंकले १२ दशमलव ५ प्रतिशत लाभांश दिएको थियो ।
यस्तै माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत वर्ष बैंकले ८ प्रतिशत लाभांश दिएको थियो । सिटिजन्स बैंक इन्टरनेशनलले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जुन गत वर्षको ५ दशमलव २६ प्रतिशतभन्दा कम हो ।
कुमारी बैंकले यस वर्ष २ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत वर्ष लाभांश दिएको थिएन ।
सिद्धार्थ बैंकले भने २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ । गत वर्ष बैंकले १० दशमलव ५३ प्रतिशत लाभांश दिएको थियो ।
विकास बैंकमा पनि फरक–फरक दर
विकास बैंकतर्फ कामना सेवा विकास बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत वर्षको १५ दशमलव ७९ प्रतिशतको तुलनामा यो कम हो ।
सांग्रिला डेभलपमेन्ट बैंकले १० दशमलव ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा ४ प्रतिशत बोनस शेयर र ६ दशमलव ५२ प्रतिशत नगद लाभांश रहेको छ । गत वर्ष बैंकले १० दशमलव ३६ प्रतिशत लाभांश दिएको थियो ।
गरिमा विकास बैंकले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश दिएको बैंकले यसपटक प्रतिफल बढाएको छ ।
त्यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत वर्ष बैंकले १३ प्रतिशत लाभांश दिएको थियो ।
फाइनान्स समूहबाट आईसीएफसी फाइनान्सले १० दशमलव ५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । गत वर्ष कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश दिएको थियो ।
जलविद्युत् कम्पनीको लाभांश पनि मिश्रित
जलविद्युत् कम्पनीतर्फ माण्डु हाइड्रोपावरले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। गत वर्षको १० प्रतिशतको तुलनामा यसपटक लाभांश बढेको छ ।
सुपर मादी हाइड्रोपावरले १५ दशमलव ७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश रहेको छ । गत वर्ष कम्पनीले ५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो ।
युनाइटेड मार्दी एण्ड आरबी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरले समान ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। दुवै कम्पनीको लाभांश दर गत वर्षकै बराबर हो ।
यसैगरी स्नो रिभर नेपाल र विकास हाइड्रोपावरले १० दशमलव ५२६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। दुवै कम्पनीले गत वर्ष लाभांश दिएका थिएनन् ।
लगानी समूहअन्तर्गत नेपाल पूर्वाधार बैंकले ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत वर्ष बैंकले ६ दशमलव ३२ प्रतिशत लाभांश दिएको थियो ।
उत्पादनमूलक क्षेत्रमा रिलायन्स स्पिनिङ अगाडि
उत्पादन तथा प्रशोधन समूहमा रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत नगद लाभांश सबैभन्दा उच्च छ। गत वर्ष लाभांश नदिएको कम्पनीले यसपटक ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
नेपाल ल्युब्रिकेन्ट्स आयलले २१ दशमलव ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा १५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५२ प्रतिशत नगद लाभांश रहेको छ । गत वर्ष कम्पनीले २१ दशमलव ५ प्रतिशत लाभांश दिएको थियो ।
सर्वोत्तम पेन्ट्सले १० दशमलव ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्तमा घट्यो, होटलमा बढ्यो
लघुवित्त समूहबाट गुराँस लघुवित्तले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश रहेको छ । गत वर्ष कम्पनीले १५ प्रतिशत लाभांश दिएको थियो ।
होटल तथा पर्यटन समूहको कालिन्चोक दर्शनले ८ दशमलव ९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा ८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४४ प्रतिशत नगद लाभांश रहेको छ । गत वर्षको ५ दशमलव २६ प्रतिशतको तुलनामा यसपटक लाभांश बढेको छ ।
म्युचुअल फन्डमा पनि प्रतिफल घोषणा
कम्पनीसँगै म्युचुअल फन्डहरूले पनि इकाइधनीका लागि प्रतिफल घोषणा गरिरहेका छन् ।
हालसम्म सार्वजनिक विवरणअनुसार हिमालयन ८०–२०ले १५ प्रतिशत प्रतिफल घोषणा गरेको छ ।
कुमारी इक्विटी फन्डले १० प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ । गत वर्ष यो ११ दशमलव ५ प्रतिशत थियो । कुमारी धनवृद्धि योजनाले १० प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ, जुन गत वर्षको १० दशमलव ५ प्रतिशतभन्दा कम हो ।
कुमारी सबल योजनाले २ दशमलव ९ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ। गत वर्ष यो ९ प्रतिशत थियो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ले ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ले १० प्रतिशत प्रतिफल प्रस्ताव गरेका छन् । गत वर्ष यी फन्डले क्रमशः २० प्रतिशत र १७ प्रतिशत प्रतिफल दिएका थिए ।
एनएमबी ५०ले ३ दशमलव १५ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ । गत वर्ष १५ प्रतिशत प्रतिफल दिएको यस फन्डको प्रस्तावित प्रतिफल यसपटक उल्लेख्य रूपमा घटेको छ ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ले १० प्रतिशत, एनएमबी हाइब्रिड फन्ड एल–२ले ४ दशमलव ५ प्रतिशत र रिलायबल समृद्धि योजनाले ८ दशमलव ४२११ प्रतिशत प्रतिफल प्रस्ताव गरेका छन् ।
सनराइज फोकस्ड इक्विटी फन्डले ४ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। गत वर्ष यो १३ दशमलव ५ प्रतिशत थियो ।
तर केही फन्डको प्रतिफल बढेको छ। प्रभु स्मार्ट फन्डले १२ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ, जुन गत वर्षको १० प्रतिशतभन्दा बढी हो । प्रभु सेलेक्ट फन्डले १२ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ, जुन गत वर्षकै बराबर हो ।
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ। गत वर्ष यो १५ दशमलव ७९ प्रतिशत थियो । मुक्तिनाथ म्युचुअल फन्ड–१ले २ दशमलव २ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। गत वर्ष यो ३ दशमलव ८ प्रतिशत थियो ।
नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल ब्यालेन्स्ड फन्ड–३ले समान १३ प्रतिशत प्रतिफल प्रस्ताव गरेका छन् । गत वर्ष यी फन्डले क्रमशः ३ दशमलव ५ प्रतिशत र २ दशमलव ५ प्रतिशत प्रतिफल दिएका थिए ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ले १२ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ, जुन गत वर्षकै बराबर हो । सिटिजन सुपर ३०ले १२ दशमलव ७५ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ। गत वर्ष यो ५ दशमलव २५ प्रतिशत थियो ।
खुलामुखी तथा अन्य योजनातर्फ आरबिबि म्युचुअल फन्ड–१ले २० प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ । गत वर्ष २ दशमलव ७५ प्रतिशत मात्र प्रतिफल दिएको यस योजनाको प्रस्तावित प्रतिफल यसपटक बढेको छ ।
आरबिबि म्युचुअल फन्ड–२ले १३ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ। गत वर्ष यो ६ प्रतिशत थियो ।
सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ । गत वर्ष यो ८ प्रतिशत थियो ।
एनएमबी सरल बचत फन्ड–इले ५ दशमलव २५ प्रतिशत प्रतिफल प्रस्ताव गरेको छ । गत वर्ष यो ४ दशमलव २७ प्रतिशत थियो ।
लाभांश घोषणामा देखियो फरक प्रवृत्ति
हालसम्म सार्वजनिक भएका विवरणले चालु आर्थिक वर्षको लाभांश घोषणामा विभिन्न प्रवृत्ति देखिएको छ । केही कम्पनी तथा फन्डले अघिल्लो वर्षको तुलनामा लाभांश बढाएका छन् भने केहीले घटाएका छन् । केही कम्पनीले गत वर्ष लाभांश नदिए पनि यस वर्ष वितरणको प्रस्ताव गरेका छन् ।
कम्पनीतर्फ रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत नगद लाभांश र म्युचुअल फन्डतर्फ हिमालयन ८०–२० को १५ प्रतिशत प्रतिफल उल्लेख्य देखिएको छ ।
लाभांशको दरसँगै कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, खुद सम्पत्ति, नगद प्रवाह तथा विगतको लाभांश वितरणको अवस्था हेर्नु आवश्यक हुन्छ । म्युचुअल फन्डको हकमा पनि प्रतिफलसँगै फन्डको खुद सम्पत्ति मूल्य, लगानीको संरचना र विगतको कार्यसम्पादनलाई आधार बनाएर जानकारी लिन सकिन्छ ।


विश्व खबर 



















