images
images
  • भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, बाढीपछि बङ्गलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं– नेपालले गत भदौ महिनामा भारत र बङ्गलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् बिक्री गरिएको हो । द्विपक्षीय सम्झौता तथा विद्युत् बजारमार्फत उक्त विद्युत् बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।

    द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्रीबाट ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।

    त्यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

    यसैबीच, भोटेकोशी नदीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि बङ्गलादेशतर्फको विद्युत् निर्यात हाल रोकिएको प्राधिकरणले जनाएको छ ।

    नेपालले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् भारत र बङ्गलादेशमा बिक्री गर्दै आएको छ। पछिल्लो समय विद्युत् निर्यातमार्फत मुलुकले उल्लेख्य विदेशी मुद्रा आम्दानी गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images