इस्तानबुल– इजरायली सेनाले तीन वर्षको युद्ध पूरा नहुँदै विगत ३० वर्षमा प्रयोग गरेको बराबरको गोलाबारुद प्रयोग गरिसकेको इजरायली अखबार मारिभले जनाएको छ ।
आइतबार प्रकाशित रिपोर्टमा मारिभले लामो समयदेखि जारी युद्धका कारण इजरायली सेनाको जनशक्ति, रिजर्भ फोर्स, सैन्य उपकरण र आर्थिक स्रोतमा ठूलो दबाब परेको उल्लेख गरेको छ ।
रिपोर्टअनुसार पछिल्लो अवधिमा इजरायली वायुसेनाको गतिविधि सामान्य परिस्थितिमा करिब नौ वर्षमा हुने सैन्य अभियान बराबर भएको छ ।
त्यस्तै, ट्यांक तथा बख्तरबन्द सैनिक वाहनहरूमा हजारौँ इन्जिन प्रयोग भइसकेका छन् ।
सैन्य उपकरणहरू मर्मत वा पुनःस्थापना गर्न सकिने भए पनि सैनिक जनशक्तिमा परेको क्षति पुनःपूर्ति गर्न निकै कठिन हुने मारिभले उल्लेख गरेको छ ।
रिपोर्टअनुसार इजरायली सेनाले मात्रै अन्य सुरक्षा निकायलाई बाहेक गर्दा १ हजार १३८ जना जनशक्ति गुमाइसकेको छ ।
थप ११ हजार ७३० जनालाई शारीरिक वा मनोवैज्ञानिक चोटपटकका कारण घाइतेका रूपमा मान्यता दिइएको छ ।
मनोवैज्ञानिक आघात भोगिरहेका तर अहिलेसम्म तथ्यांकमा समेटिन नसकेका हजारौँ सैनिक भविष्यमा थपिन सक्ने पनि अखबारले जनाएको छ ।
लामो समयदेखि जारी युद्धको असर स्थायी सैनिकहरूमा समेत देखिन थालेको रिपोर्टमा उल्लेख छ ।
कमान्ड तहका जिम्मेवारीका लागि प्रस्ताव गरिएका उल्लेख्य संख्याका सैनिकले त्यसको सट्टा कम दबाब हुने पछाडिका भूमिकाहरू रोजेका छन् भने कतिपयले सैन्य सेवा नै छाडेका छन् ।
यसैबीच इजरायली सेनाले दैनिक औसत ५३ हजार रिजर्भ सैनिकलाई सक्रिय सेवामा राखिरहेको छ ।
मारिभका अनुसार गत वर्ष रिजर्भ सैनिक परिचालनको एक महिनाको खर्च मात्रै करिब २.१ अर्ब इजरायली शेकेल अर्थात् करिब ७० करोड ३० लाख अमेरिकी डलर पुगेको थियो ।
यो रकमबाट करिब सात वटा एफ–३५ लडाकु विमान वा ७० वटा मर्काभा ट्याङ्क खरिद गर्न सकिने अखबारले तुलना गरेको छ ।
इजरायली सेनाले अहिले गाजासहित लेबनान र सिरियामा तीनवटा ‘सुरक्षा घेरा’मा सैन्य उपस्थिति कायम राखेको छ ।
यसबाहेक कब्जामा रहेको पश्चिम किनार क्षेत्रमा समेत ठूलो संख्यामा सैनिक परिचालन गरिएको छ ।
मारिभका अनुसार यी क्षेत्रमध्ये पश्चिम किनारले सेनाको जनशक्तिको सबैभन्दा ठूलो हिस्सा खपत गरिरहेको छ ।
गाजामा भनिएको ‘यलो लाइन’ आसपास करिब पाँच इजरायली बटालियन परिचालित छन् ।
उनीहरूले गाजा क्षेत्रको करिब ६० प्रतिशत भू–भाग समेट्ने क्षेत्रमा निगरानी गरिरहेका छन् ।
सीमामा थप दुईवटा सुदृढ बटालियन तथा तयारी अवस्थामा रहेका र क्षेत्रीय सुरक्षाका लागि खटिएका अन्य सैन्य बल पनि तैनाथ छन् ।
यति ठूलो सैन्य परिचालन दीर्घकालसम्म कायम राख्न सकिने वा नसकिने विषयमा पनि मारिभले प्रश्न उठाएको छ ।
अखबारका अनुसार निरन्तरको ठूलो सैन्य उपस्थिति इजरायली सेनामाथि आर्थिक तथा जनशक्तिसम्बन्धी ठूलो बोझ बनेको छ ।
रिपोर्टमा इजरायलले पाउँदै आएको अमेरिकी सैन्य सहयोगको भविष्यबारे समेत चिन्ता व्यक्त गरिएको छ ।
हालको सम्झौता सन् २०२८ मा समाप्त हुँदैछ ।
उक्त सम्झौताअन्तर्गत पछिल्लो एक दशकमा इजरायलले करिब ३३ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोग पाएको उल्लेख गरिएको छ ।
भविष्यमा इजरायलले हालको सहयोग प्याकेजको करिब आधा मात्रै माग गर्ने संकेत दिएको भन्दै मारिभले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आलोचना गरेको छ ।
इजरायली उच्च अधिकारीहरूले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले समान स्तरको अर्को १० वर्षे सैन्य सहयोग सम्झौता स्वीकृत गर्ने अपेक्षा गरेको पनि अखबारले जनाएको छ ।
मारिभले अन्ततः इजरायली सेनाले सैन्य परिचालनको वर्तमान स्तर घटाउनुपर्ने निष्कर्ष निकालेको छ ।
स्रोतसाधन जोगाउन र सैनिक जनशक्तिलाई थप क्षयीकरणबाट जोगाउन सेनाको परिचालनको दायरा घटाउनुपर्ने अखबारको भनाइ छ । –मारिभ


विश्व खबर 




















