काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा वैकल्पिक सडक निर्माण गरी दुवैतर्फबाट यातायात सञ्चालनमा ल्याइएपछि राजमार्गमा सवारीसाधनको चाप बढेको छ ।
गत असोज १ गतेदेखि कृष्णभीर क्षेत्रमा दुवैतर्फ सडक सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात सेवा क्रमशः सहज बन्दै गएको हो ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान हुनुका साथै पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध हुँदा काठमाडौँलगायत देशका विभिन्न भागबाट आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका थिए ।
मुख्य सडक क्षतिग्रस्त भएपछि सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए । सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा तत्काल वैकल्पिक सडक निर्माण तथा सडक कटानको काम अघि बढाएका थिए ।
वैकल्पिक सडक निर्माणपछि रोकिएका तथा अन्य मार्गबाट सञ्चालन हुँदै आएका सवारीसाधन पुनः पृथ्वी राजमार्गतर्फ फर्किन थालेका छन् । दुवैतर्फ सडक सञ्चालनमा आएपछि निजी, सार्वजनिक तथा मालवाहक सवारीसाधनको आवागमन बढेको छ ।
लामो दूरीका सवारीसाधनसमेत नियमित सञ्चालन हुन थालेपछि राजमार्गका विभिन्न खण्डमा सवारी चाप देखिन थालेको छ । यद्यपि बाढी र पहिरोका कारण क्षतिग्रस्त सडक क्षेत्रमा जोखिम अझै कायम रहेको छ ।
वर्षाका कारण सडकको सतह कमजोर हुनुका साथै कतिपय स्थानमा पहिरोको जोखिम रहेकाले चालकलाई गति नियन्त्रण गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।
स्थानीयवासी तथा यातायात व्यवसायीहरूले तत्कालका लागि वैकल्पिक सडकबाट यातायात सञ्चालन भए पनि क्षतिग्रस्त सडक तथा आसपासका संरचनाको स्थायी पुनर्निर्माण आवश्यक रहेको बताएका छन् ।
प्राविधिक अध्ययनसहित सडक तथा संरचनाको पुनर्निर्माण गरी राजमार्गलाई पूर्ण रूपमा सुरक्षित र भरपर्दो बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा कृष्णभीरको सडक सञ्चालनमा आएपछि यात्रु तथा मालसामान ओसारपसारमा देखिएको अवरोध घटेको छ ।


विश्व खबर 




















