images
images
  • असोज ४ देखि १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेसनमा प्राविधिक काम गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ ।

    प्राधिकरणका अनुसार असोज ४ गतेदेखि १४ गतेसम्म विभिन्न फिडरमार्फत वितरण हुने विद्युत् सेवा निर्धारित तालिकाअनुसार केही समय अवरुद्ध वा प्रभावित हुन सक्नेछ ।

    प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा प्राविधिक काम गर्न लागेको हो ।

    आयोजनाअन्तर्गत ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गरिनेछ । साथै रिले पुनःस्थापना तथा सबस्टेसन स्वचालन प्रणाली जडान र परीक्षणको कामसमेत गरिने प्राधिकरणले जनाएको छ ।

    उक्त कामका क्रममा १३२ केभी टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडर प्रभावित हुनेछन् । ती फिडरबाट विद्युत् आपूर्ति हुने काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा केही समय बन्द हुन सक्ने प्राधिकरणको भनाइ छ ।

    कामको प्रकृति र प्रभावित फिडरअनुसार विद्युत् आपूर्ति बन्द हुने समय फरक–फरक हुने भएकाले सबै क्षेत्रमा एकैपटक विद्युत् अवरुद्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ ।

    प्राधिकरणले निर्धारित तालिकाअनुसार प्राविधिक काम सम्पन्न गरी विद्युत् आपूर्ति नियमित गर्ने जनाएको छ । साथै कामका क्रममा उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै सहयोगका लागि आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images