images
images
  • ईडीएलभीआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ प्रति छापिए

    काठमाडौं – सरकारले नयाँ विद्युतीय प्रणाली ईडीएलभीआरएसमार्फत सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ सुरु गरेको छ ।

    पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइ तथा वितरणको समस्या समाधान गर्ने उद्देश्यले नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

    नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरिएको छ ।

    छपाइ भएका लाइसेन्स वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको विभागले जनाएको छ ।

    नयाँ प्रणालीमा सेवाग्राहीको विवरण विद्युतीय रूपमा प्रणालीमा प्रविष्ट भएपछि सो विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ ।

    यस प्रणालीबाट नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीको प्रक्रिया थप छिटो र सहज हुने विभागको अपेक्षा छ ।

    यसअघि लाइसेन्स छपाइ तथा वितरणमा लामो समय लाग्ने र सेवाग्राहीले लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने समस्या रहँदै आएको थियो ।

    नयाँ विद्युतीय प्रणाली लागू भएपछि छपाइदेखि सम्बन्धित कार्यालयमा पठाउनेसम्मको प्रक्रिया व्यवस्थित हुने विभागको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images