काठमाडौं– एमएडब्ल्यू वृद्धी अटोकोर्पले पोखरामा चांगान नेभो क्यू०५ विद्युतीय एसयूभी सार्वजनिक गरेको छ । नयाँ सवारी साधन सार्वजनिक गरेसँगै कम्पनीले चारदिने परीक्षण कार्यक्रमसमेत आयोजना गरेको छ ।
ग्राहकले चौतारास्थित दिपल पोखरा सोरुममा पुगेर नेभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
चांगानको नयाँ ऊर्जा सवारी साधनअन्तर्गतको नेभो क्यू०५ नेपालमा दिपलमार्फत उपलब्ध हुने नयाँ विद्युतीय एसयूभी हो । कम्पनीका अनुसार यसले आकर्षक बनोट, आधुनिक प्रविधि र आरामदायी यात्राको संयोजन प्रस्तुत गर्छ ।
क्यू०५ मा २ हजार ७३५ मिलिमिटर लामो ह्विलबेस रहेको छ । यसले विशेषगरी पछाडिको सिटमा बस्ने यात्रुलाई पर्याप्त स्थान उपलब्ध गराउने कम्पनीको भनाइ छ । पछाडिका सिट ढल्काउन मिल्ने भएकाले लामो यात्रामा थप आराम मिल्ने बताइएको छ ।
सवारी साधनमा ५४० लिटरको सामान राख्ने स्थान रहेको छ । सहरी प्रयोगका लागि उपयुक्त बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक भित्री संरचना क्यू०५ को प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ ।
क्यू०५ को बनोट चांगानको विश्वव्यापी डिजाइन सञ्जालअन्तर्गत विकास गरिएको कम्पनीले जनाएको छ । उक्त सञ्जालमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन विशेषज्ञ संलग्न रहेको बताइएको छ ।
चांगानका विश्वव्यापी डिजाइन उपाध्यक्ष तथा पूर्व फक्सवागन समूहका डिजाइन प्रमुख क्लाउस जाइसियोराको नेतृत्वमा विकसित क्यू०५ मा वायुगतिकीय बनोट, विशिष्ट प्रकाश संरचना र फराकिलो बाहिरी स्वरूप रहेको छ । यसको बनोटले ‘गोल्डेन ए’ डिजाइन पुरस्कारसमेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।
विद्युतीय एसयूभीमा ५१.९ किलोवाट घण्टा क्षमताको क्याटल लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीलाई चांगानको ‘गोल्डेन शिल्ड २.०’ प्रणालीसँग एकीकृत गरिएको छ ।
क्यू०५ ले ३सी द्रुत चार्जिङ प्रविधि समर्थन गर्नेछ भने यसको अधिकतम प्रत्यक्ष विद्युत् चार्जिङ क्षमता १६२ किलोवाटसम्म रहेको छ ।
चांगान नेभोका अनुसार सन् २०२६ अगस्टको अन्त्यसम्म क्यू०५ को विश्वव्यापी बिक्री १ लाख २५ हजारभन्दा बढी एकाइ पुगेको थियो । कम्पनीले चीनको साना आकारका एसयूभी बजारमा लगातार चार महिनासम्म बिक्रीमा अग्रता हासिल गरेको दाबी गरेको छ ।
फराकिलो भित्री संरचना, अन्तर्राष्ट्रिय डिजाइन पहिचान र आधुनिक विद्युतीय प्रविधिसहित नेभो क्यू०५ ले नेपालको साना आकारका विद्युतीय एसयूभी बजारमा प्रवेश गरेको हो।


विश्व खबर 



















