images
images
  • रसुवा बाढीपछि मुस्ताङको पर्यटनमा असर, एकै महिनामा २९ हजार पर्यटक घटे

    काठमाडौं– गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा पर्यटक आगमन झन्डै आधाले घटेको हो ।

    प्रहरीको तथ्यांकअनुसार साउनमा ६१ हजार २६३ जना पर्यटक मुस्ताङ पुगेका थिए । भदौमा भने यो संख्या घटेर ३१ हजार ९८९ मा सीमित भएको छ । साउनको तुलनामा भदौमा २९ हजार २७४ जना अर्थात् ४७ दशमलव ७८ प्रतिशत पर्यटक घटेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी–मुस्ताङ सीमास्थित घाँसा प्रहरी चौकीको तथ्यांकअनुसार साउनमा ३० हजार ६५५ आन्तरिक, ३१ हजार ५७५ सार्क राष्ट्रका र १९३ अन्य राष्ट्रका पर्यटक मुस्ताङ पुगेका थिए ।

    भदौमा आन्तरिक पर्यटकको संख्या १६ हजार ५०३, सार्क राष्ट्रका पर्यटक १५ हजार १३८ र अन्य राष्ट्रका पर्यटक ३४८ जना रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटक १४ हजार १५२ अर्थात् ४६ दशमलव १६ प्रतिशत र सार्क राष्ट्रका पर्यटक १६ हजार ४३७ अर्थात् ५२ दशमलव ५ प्रतिशत घटेका छन् ।

    अन्य मुलुकका पर्यटक भने बढे

    आन्तरिक र सार्क राष्ट्रका पर्यटकको आगमन घटे पनि अन्य मुलुकका पर्यटकको संख्या भने बढेको छ ।

    साउनमा अन्य मुलुकका १९३ जना पर्यटक मुस्ताङ पुगेकामा भदौमा यो संख्या बढेर ३४८ जना पुगेको छ । अर्थात् भदौमा अन्य मुलुकका पर्यटक १५५ जना बढेका हुन् ।

    चालु आर्थिक वर्षको साउन र भदौ गरी मुस्ताङमा कुल ९३ हजार २५२ जना पर्यटक पुगेका छन् । यसमध्ये ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क राष्ट्रका र ४४१ अन्य मुलुकका पर्यटक रहेको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक बस्यालका अनुसार भदौ १० गते रसुवामा भएको बाढीका कारण देशभर शोकको अवस्था सिर्जना भएकाले त्यसको प्रभाव मुस्ताङको पर्यटक आगमनमा परेको हुनसक्छ ।

    यसैबीच, कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक बाढी, पहिरो र नदी कटानका कारण साउनमा पटकपटक अवरुद्ध भए पनि पर्यटक आगमन उल्लेख्य रहेको थियो । तर रसुवा बाढीपछि भदौमा पर्यटक आगमनमा ठूलो गिरावट आएको प्रहरीको तथ्यांकले देखाएको छ ।

    अघिल्लो वर्षभन्दा भने पर्यटक बढे

    चालु आर्थिक वर्षको साउन र भदौमा पर्यटक आगमन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने बढेको छ ।

    गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

    यसरी अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा पर्यटक संख्या बढे पनि चालु वर्षकै साउनको तुलनामा भदौमा भने पर्यटक आगमन उल्लेख्य रूपमा घटेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images