images
images
  • धवलागिरि आरोहणका लागि आधार शिविरमा पुग्न थाले पर्वतारोही

    काठमाडौं– विश्वको सातौँ अग्लो हिमाल धवलागिरि आरोहणका लागि आएका पर्वतारोहीहरू आधार शिविर पुग्न थालेका छन् । आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

    ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका टोली आधार शिविर पुग्न थालेका हुन् । आरोहण टोलीको समन्वय गरिरहेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनका अनुसार शनिबारसम्म ३० जना विदेशी पर्वतारोही आधार शिविर पुगेका छन् ।

    आरोहण टोली हेलिकप्टरमार्फत सिधै आधार शिविर पुगेपछि शनिबार धार्मिक विधिअनुसार पूजाआजा गरेर आरोहणको तयारी थालेका हुन् ।

    बगरतर्फबाट आधार शिविर जाने चक्रीय धवलागिरि पदमार्ग बाढीपहिरोका कारण क्षतिग्रस्त भएकाले यसपटक आरोहण टोलीले मार्फातर्फको पदमार्ग र हेलिकप्टर प्रयोग गरेका छन् ।

    आरोहण अभियानमा विपद् तथा दुर्घटना नहोस् भन्ने कामनासहित आधार शिविरमा शेर्पाहरूले पूजाआजा गर्ने परम्परा छ । आरोहणका लागि आवश्यक बन्दोबस्तीका सामान ढुवानीमा खच्चड र हेलिकप्टर प्रयोग गरिएको शेरचनले बताए ।

    थप पर्वतारोही टोली पनि आधार शिविर जाने तयारीमा छन् । केही दिन आधार शिविरमै अनुकूल मौसमको प्रतीक्षा तथा आवश्यक तयारी गरेपछि आरोहीहरू डोरी टाँगेर बाटो बनाउने तथा शिविर क्रमशः माथि सार्दै चुचुरोतर्फ अघि बढ्नेछन् ।

    शेर्पाहरूले हिउँमा डोरी टाँगेर आरोहण मार्ग तयार पारेपछि उनीहरूको सहयोगमा पर्वतारोहीहरू चुचुरोतर्फ जाने गर्छन् । आरोहण टोली पुग्न थालेसँगै धवलागिरि आधार शिविरमा चहलपहल बढेको छ ।

    ३४ जनाले लिए आरोहण अनुमति

    चालु शरदयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट आरोहण शुल्कबापत ७७ लाख ८२ हजार ४५० रुपैयाँ प्राप्त भएको विभागको अभिलेखमा उल्लेख छ ।

    गत वसन्तयाममा तीन समूहका १२ महिला र १६ पुरुष तथा २०८२ सालको शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका थिए ।

    धवलागिरि आरोहणमा छिनछिनमा परिवर्तन हुने मौसम मुख्य चुनौतीका रूपमा रहेको छ । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

    सन् १९६० मा पहिलो सफल आरोहण

    धवलागिरि हिमालको पहिलो सफल आरोहण सन् १९६० मे १३ मा भएको थियो। अस्ट्रियाका कुर्ट डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images