काठमाडौं– नेकपा (एमाले)का पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदनलाई लिएर एमालेभित्र विवाद चर्किएको छ ।
२९ पृष्ठको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका उपलब्धिको चर्चा बढी र निर्वाचनमा भएको पराजय तथा पार्टी पुनर्गठनका विषयलाई पर्याप्त स्थान नदिइएको कार्यदलका सदस्यहरूले बताएका छन् ।
प्रतिवेदनमा ओलीकै नेतृत्वमा संविधान जारी भएको, उत्तरी नाका सञ्चालन, विकास निर्माण, कोभिड व्यवस्थापन तथा खानी उत्खननको वातावरण बनेको लगायतका विषय उल्लेख छन् ।
तर, २१ फागुन २०८२ को निर्वाचनमा एमालेले भोगेको पराजयको समीक्षा भने सीमित रूपमा मात्रै गरिएको बताइएको छ ।
देशभरबाट संकलित सुझावका आधारमा ३९ वटा निष्कर्ष निकालिएको उल्लेख भए पनि ती निष्कर्ष प्रतिवेदनको मूल खण्डमा समेटिएको छैन ।
कार्यदलका केही सदस्यले प्रतिवेदनलाई ‘अपूर्ण’ भन्दै यसले पार्टी पुनर्गठनको ठोस खाका नदिएको बताएका छन् ।
कार्यदलका सदस्यहरूका अनुसार देशभर १३ स्थानमा भएको छलफलबाट आएका सुझावलाई बेवास्ता गर्दै प्रतिवेदन तयार गरिएको छ ।
ज्ञवाली कार्यदलका सदस्य भने होइनन् ।
यसअघि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा १५ सदस्यीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरिएको थियो ।
तर, उक्त प्रतिवेदनले उपाध्यक्ष विष्णु पौडल र महासचिव शंकर पोखरेल समूह झन् उत्तेजित भएको स्रोतका भनाइ छ ।


विश्व खबर 




















